अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मातातीर्थ मेलाका लागि तयारी पूरा

मातातीर्थ मेलाका लागि तयारी पूरा


काठमाडौं – आमाको मुख हेर्ने औँसीका दिन चन्द्रागिरि नगरपालिकाको मातातीर्थ मन्दिरमा लाग्ने मेलाका लागि सम्पूर्ण तयारी पूरा गरिएको छ।

यही वैशाख ७ गते वैशाख कृष्णपक्ष औँसीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा गएर कुण्डमा स्नान र पूजा गर्ने गरिन्छ। मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले मातातीर्थ मेला सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेर काम गरिएको बताउनुभयो । उहाँका अनुसार मेला सम्पन्न गर्न मूल समिति, बजार व्यवस्थापन उपसमिति, स्वास्थ्य उपसमिति, पार्किङ व्यवस्थापन उपसमिति, ज्येष्ठ नागरिक दर्शन उपसमिति बनाएर काम गरिएको छ।

वैशाख ६ गते साँझ बत्ती बाल्ने र भोलिपल्ट औँसीका दिनमा आमाको मुख हेर्ने तथा स्नान गर्ने भएकाले अघिल्लो दिनदेखि नै सोही क्षेत्रमा मेला लाग्ने अध्यक्ष उदासले बताउनुभयो । यसपटक मेला भर्न पाँच लाखभन्दा बढी व्यक्तिले मेला भर्ने आयोजकको अनुमान छ। सांस्कृतिक, धार्मिक, ऐतिहासिक र पुरातात्त्विक महत्त्वको मातातीर्थ कुण्डमा पछिल्लो पटक श्राद्ध गर्नेको सङ्ख्या समेत बढ्दै गएको छ।

दिवङ्गत आमाको सम्झनामा श्राद्ध तथा दान गर्न वैशाख कृष्ण औँसीमा ठूलो मेला लाग्दै आएको चन्द्रागिरि नगरपालिका–८ मातातीर्थ कुण्डमा पछिल्लो समय श्राद्ध गर्न जानेको सङ्ख्या पनि बढ्दै गएको हो । मातातीर्थ कुण्डमा दर्शन गरेमा आमा दिवङ्गत हुने छोराछोरीले आमालाई तिर्नुपर्ने ऋणबाटमुक्त हुने विश्वास गरिन्छ । मातातीर्थमा पछिल्लो समय आमाको श्राद्ध गर्न आउनेको सङ्ख्या बढेको मन्दिरका पुजारी फणीन्द्र अधिकारीले बताउनुभयो । 

“काठमाडौंमा कोठा भाडामा लिएर बस्ने तथा नजिक घर भएका व्यक्ति आमाको श्राद्धका लागि मातातीर्थ कुण्ड आउने गरेका छन्, यहाँ दैनिक आठ/दश जना श्राद्ध गर्न आउने गर्छन्,” उहाँले भन्नुभयो ।

संस्थाका अध्यक्ष उदासले आमालाई श्रद्धाभाव गरी पछिल्लो समय मातातीर्थ कुण्डको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या वृद्धि भएको बताउनुभयो ।

“दर्शनसँगै यहाँ वार्षिक श्राद्ध गर्न आउनेको सङ्ख्यासमेत बढ्दै गएको छ तर यहाँको विकासका लागि स्थानीय सरकार र केन्द्रीय सरकारले कुनै सहयोग नगरेको उहाँले गुनासो गर्नुभयो ।

“मातातीर्थ क्षेत्रको एकीकृत विकासका लागि फर्नपार्क, पिकनिक स्पट र कुण्डभन्दा ८०० मिटरमाथि आमाको स्वर्गद्वारी निर्माणको कामलाई अगाडि बढाएका छौँ,” उहाँले भन्नुभयो । 

सोही संस्थाले आमाको स्वर्गद्वारी क्षेत्रमा एक सय १३ फिटको ढुङ्गाको मूर्ति निर्माण गर्न लागेको छ । मातातीर्थ क्षेत्रमा असार, साउन र भदौ महिनामा अत्यधिक पानी हुने र चैत, वैशाख, जेठमा पानी सुक्ने भएकाले पानी व्यवस्थापनका लागि रिजर्भ ट्याङ्की निर्माण गर्नेबारे छलफल भइरहेको उहाँको भनाइ थियो । रासस