काठमाडौं – सबैका लागि खेलकुद भन्ने मूल नारासहित मदन भण्डारी स्पोट्स एकेडेमीले विभिन्न खेलविधाका राष्ट्रिय प्रतियोगिता गर्ने भएको छ।
एकेडेमीले देशका विभिन्न स्थानमा क्रिकेट, कराते, रेसलिङ, ब्याडमिन्टन, चेस, फुल कन्टयाक्ट लगायतका राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको हो । यस्तै,फुटबल, भलिबल, तेक्वान्दो, फुटसल, डोरी तान लगायतमा प्रदेशस्तरीय प्रतियोगिता गर्दैछ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रियसँगै प्रदेशस्तरीय वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । एकेडेमीका अध्यक्ष ध्रुर्व आचार्यका अनुसार आउदो जेठ २३ देखि ३० गतेसम्म पोखरामा केपी ओली कप रनिङ शिल्ड राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने छ । प्रतियोगितामा च्याम्पियनले १० लाख, उपविजेताले ५ लाख एवं बेष्ट बलर र ब्याट्स म्यानले २५/२५ हजार रुपैया नगद पुरस्कार पाउनेछन् ।
यही वैशाख ५ देखि ६ गतेसम्म काडमाडौंको लैनचौरमा राष्ट्रिय जुनियर लेवल टेबल टेनिस प्रतियोगिता आयोजना हुनेछ । १५ र १९ वर्षमूनिको छात्रछात्रा टेबल टेनिस प्रतियोगितामा प्रथमले १५, द्धितीयले १० र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
वैशाख २५ र २६ मा भत्तपुरमा खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्दैछ । जसमा प्रथमले १ लाख , द्धितीयले ५० हजार र तृतीयले २५ हजार रुपैया नगद पुरस्कार पाउनेछन् । भेन्ट्रासतर्फ प्रथमलाई ५० हजार, द्धितीयलाई ३० हजार र तृतीयलाई २० हजार रुपैया नगद पुरस्कार दिइनेछ।
जेठ ३१ मा सुर्खेतमा राष्ट्रिय रेसलिङ प्रतियोगिता आयोजना हुदैछ । प्रतियोगितामा हेभीवेट च्याम्पियनलाई १ लाख ५ हजार, हार्ड कोर च्याम्पियनलाई ७५ हजार, मिडल वेट च्याम्पियनलाई ६० हजार, ट्याग टिम च्याम्पियनलाई ५० हजार र लाइट वेट च्याम्पियनलाई ४० हजार रुपैया नगद प्रदान गरिनेछ ।
यस्तै, बुटवलमा जेठ २देखि ४ गतेसम्म राष्ट्रिय चेस प्रतियोगिता हुनेछ । प्रतियोगितामा प्रथमलाई २० हजार नगदसहित १० औं स्थानसम्मलाई पुरस्कार पाउनेछन् ।
एकेडेमीले जेठ ४ देखि १० गतेसम्म काठमाडौंको त्रिपुरेश्वरमा राष्ट्रिय खुला बास्केटबल पुरुष र महिला रनिङशिल्ड प्रतियोगिता आयोजना गर्दैछ । जसमा विजेताले १ लाख ५० हजार रुपैयॉ र उपविजेताले १ लाख रुपैयाँनगद पुरस्कार पाउनेछन् ।
मदनभण्डारी स्पोट्र्स एकेडेमीले सातै प्रदेशमा प्रदेशस्तरीय खेल प्रतियोगिताहरु आयोजना गर्दैछ । जसअन्तरगत वैशाख २७ देखि जेठ १५ गतेसम्म सातवटै प्रदेश मुकाममा मदनभण्डारी अन्तरमावि रनिङशिल्ड फुटबल प्रतियोगिता गर्नेछ । जसमा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँनगद पुरस्कार पाउनेछन् ।
यस्तै, आउदो असार १ देखि १५ गतेसम्म ७ वटै प्रदेशमा प्रदेशस्तरीय मदनभण्डारी अन्तरमावि प्रदेश रनिङ शिल्ड प्रतियोगिता आयोजना गरिने छ । प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । बैशाख २८ देखि असार १० गतेसम्म ७ वटै प्रदेश मुकाममा मदनभण्डारी अन्तरमावि रनिङशिल्ड भलिबल प्रतियोगिता गर्नेछ।
प्रतियोगितामा प्रथमले ५० हजार द्धितीयले २५ हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यस्तै, बैशाख २५ र २६ मा काठमाडौंमा बाग्मती प्रदेश स्तरीय तेक्वान्डो प्रतियोगिता आयोजना गर्दैछ । जसमा प्रथमले ३० हजार, द्धितीयले २० हजार र तृतीयले १० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । एकेडेमीले मधेश प्रदेशस्तरीय डोरीतान प्रतियोगिता सप्तरीमा गर्दैछ । असार २२ मा हुने प्रतियोगितामा प्रथमले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ । बुटवलमा असार ३ देखि ५ गतेसम्म विद्यालयस्तरीय आत्मरक्षा तालिम दिनेछ । खेलकुद विकासका लागि खेलाडी, प्रशिक्षक, निर्णायक तथा व्यवस्थापकलाई जेठ ३ गते काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्नेछ ।
एकेडेमीले अन्तराष्ट्रिय खेलकुद दिवसको अवसरमा वैशाख २३ गते बुद्धजन्मस्थल लुम्बिनीमा पिस ओपन हाफ म्याराथन प्रतियोगिता गरेर वार्षिक खेलको सुरुवात गरेको थियो । एकेडेमीका खेल प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद, स्थानीय तह र विभिन्न संघसस्थाहरुले समन्वय गर्ने अध्यक्ष आचार्यले बताउनु भयो । सबैका लागि खेलकुद भन्ने मुख्य उद्देश्यका साथ २०६६ पुस २७ मा स्थापना भएको एकेडेमीले विभिन्न खेलविधाका विभाग गठन गरेर बालबालिका, युवादेखि भेन्ट्राससमूहसम्मका खेलाडीलाई प्रशिक्षण दिने, प्रतियोगिता र गतिविधि आयोजना गर्ने गरेको छ । हरेक जिल्लामा जिल्ला कमिटी बनाएको एकेडेमीले स्थानीय तहमा समेत संगठन बिस्तार गरीरहेको उपमहासचिव सुवर्ण श्रेष्ठले बतानु भयो ।
प्रतिक्रिया