काठमाडौं-नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले सरकारले अझै पूर्णता पाउन नसकेकोमा आपत्ति जनाउनु भएको छ।
सरकार बनेको ६ महिना हुन लाग्दा पनि पूर्णता पाउन नसक्नु लाजमर्दो विषय भएको उहाँको टिप्पणी थियो।
मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद आचार्यले सरकारलाई पूर्णता दिने काम कति वर्षमा पूरा हुन्छ ? भनेर सत्तारुढ गठबन्धनलाई कटाक्ष गर्नुभयो । उहाँले सरकारलाई संसदप्रति जवाफदेही हुन पनि सचेत गराउनु भयो। सरकारले आफ्ना कार्ययोजना संसदमा प्रष्ट ढंगले राखेर अघि बढनुपर्ने उहाँको माग थियो।
उहाँले भन्नभयो, ‘वर्तमान सरकार धेरै अलमलिइरहेको देखिराखेका छौँ। यो सरकाले अहिलेसम्म पूर्णता पाउन सकेको छैन। लाजमर्दो अवस्था के हो भने सरकार र यसका अंगले झण्डै आधा वर्षसम्म भइसक्दा पूर्णता नपाउने, मन्त्रालय खाली हुने, जनताले सेवा नपाउने, मर्कामा पर्ने, विकास अलपत्र हुने अवस्था छ । मेरो एउटा प्रश्न छ हामी मन्त्री र प्रधानमन्त्रीजीहरुका भाषण सुनिरहेका छौँ, यो गर्छौँ, त्यो गर्छौं। प्रधानमन्त्री र गठबन्धनका नेताहरुले सरकारलाई कति वर्ष लगाएर पूर्णता दिनु हुन्छ?’
उहाँले सरकारले पूर्णता नपाउँदा विकासको काम पनि हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकार विस्तार र विकासको काम गर्न कति दशक लाग्छ कि वर्ष लाग्छ कि वा शताब्दी लाग्छ? उत्तर चाहियो । यो संसद सरकार बनाउन प्रधानमन्त्रीलाई भोट हाल्ने ठाउँ मात्रै होइन। संसद सरकारको जवाफदेहिता लिने ठाउँ हो। सरकारले आफ्ना कार्ययोजना यहाँ प्रष्ट सार्वजनिक गर्नु पर्छ। जे मन लाग्यो त्यही गर्ने। देशलाई बन्धक बनाएर जाने छुट कसैलाई छैन।’
प्रतिक्रिया