काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्मा राख्ने कुरा उचित नभएको दाबी गर्नुभएको छ ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले परिषद्मा रहेर मन्त्रिपरिषद्मा भाग खोजेकोतर्फ संकेत गर्दै उहाँले प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्मा राख्न नहुने तर्क गर्नुभएको हो ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग तेस्रो संशोधन विधेयक २०७७ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै नेता पन्तले कुनै पनि नियुक्तिका मुद्दाहरु सर्वोच्च अदालतमा जाने भएकाले सोही ठाउँका मानिसहरुलाई संवैधानिक परिषद्मा राख्नु उचित हो/होइन भन्ने प्रश्न उठेको बताउनु भयो ।
‘प्रधानन्यायाधीशलाई संवैधानिक परिषद्मा राख्यौं । उहाँ आफै क्याबिनेटमा समेत भाग खोज्न थाले । प्रधानन्यायाधीश अब त्यो नियुक्ति गरेको मुद्दा सर्वोच्च अदालतमा जान्छ । त्यही ठाउँको मान्छेलाई संवैधानिक परिषद्मा राख्ने कुरा आज उचित हो कि होइन ?’, उहाँको प्रश्न थियो ।
नेता पन्तले मुलुकमा विद्यमान भ्रष्टाचार नियन्त्रण गर्न राजनीतिक नेतृत्वमा दृढता हुनुपर्ने आवश्यकता औंल्याउनु भयो । राजनीतिक नेतृत्व र राजनीतिक दलहरुमा सुधार नआउने हो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै गाली गरेर सो समस्या समाधान हुनै नसक्ने उहाँको भनाइ थियो ।
प्रतिक्रिया