अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वडाध्यक्षलाई राजीनामा दिन धरानका मेयर हर्क साम्पाङको चेतावनी

वडाध्यक्षलाई राजीनामा दिन धरानका मेयर हर्क साम्पाङको चेतावनी


धरान – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडाध्यक्षहरुलाई राजीनामा दिन चेतावनी दिनु भएको छ। कर्तव्य पूरा नगरेको भन्दै बिज्ञप्ती नै जारी गरेर वडाध्यक्षहरूलाई राजीनामा दिन मेयर साम्पाङले चेतावनी दिनुभएको हो ।

मेयर साम्पाङले आज निर्देशनात्मक विज्ञप्ति जारी गर्दै वडाध्यक्षहरूले पार्टीको ह्वीपलाई जनताको हितभन्दा ठूलो मानेर विकासे बैठकहरू वहिष्कार गरेको भन्दै खेद जनाउनु भएको छ।

‘हामी कार्यपालिकामा रहने सबैका लागि कार्यपालिका बैठक बस्नै पर्ने हामी सबैको कर्तव्य हो । यो कसैको अधिकार, रहर या चाहनाको कुरा होइन यो वाध्यकारी कर्तव्य रहेको कुरा बोध गराउन चाहन्छु,’ मेयर साम्पाङको बिज्ञप्तीमा भनिएको छ, ‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पूरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’

मेयर साम्पाङले समन्वय र सहमतिविना आफूखुसी काम गरेको र बैठकमा कसैलाई आफ्ना कुरा राख्न नदिएको भन्दै एक महिनाभन्दा बढी समयदेखि वडाध्यक्षहरू आन्दोलित छन् । स्वकीय सचिवले निर्देशनात्मक पत्र पठाएको भन्दै चैत पहिलो साता वडा अध्यक्षसहित २८ जना कार्यपालिका सदस्यले मेयरलाई माफी माग्न अल्टिमेटम दिनु भएको थियो ।

सो कामको बिरोधमा केही वडाध्यक्षहरूले हातमा कालोपट्टी बाँधेर मेयरको विरोध गरेका थिए । सोही कामबाट आक्रोशित बन्नुभएका मेयर साम्पाङले आफू जस्तै जनताबाट निर्वाचित वडाध्यक्षहरुलाई राजीनामा दिन निर्देशन दिनुभएको हो ।