अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङको चुरेक्षेत्रको वन डढेलोको चपेटामा

दाङको चुरेक्षेत्रको वन डढेलोको चपेटामा


दाङ – दाङमा बर्सेनि हजारौँ हेक्टर वन डढेलोका कारण खरानी हुने गरेको छ । मानवीय लापरबाहीका कारण वनमा बर्सेनि डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालय दाङको भनाइ छ।

हाल पछिल्लो एक सातामा दाङ क्षेत्रमा १८ स्थानमा र देउखुरी क्षेत्रका २५ बढी स्थानमा डढेलो लागिसकेको छ। जसले दाङ क्षेत्रमा तीन सय ३३ हेक्टर र देउखरी क्षेत्रमा एक हजार एक सय बढी हेक्टर वन डढेलोले खरानी भएको भइसकेको छ।

गत वर्ष दाङमा ६५ स्थानमा डढेलो लागेको थियो । डिभिजन वन कार्यालय घोराही र डिभिजन वन कार्यालय देउखुरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार जिल्लामा गत वर्ष तीन हजार एक सय ७० हेक्टर क्षेत्रमा डढेलो लागेको थियो।

यो वर्ष वैशाखको पहिलो एक सातामा एक हजार चार सय हेक्टर वन डढेलो लागेर खरानी भएको छ । देउखुरी क्षेत्रमा यो वर्ष वन डढेलो नियन्त्रण बाहिर जान थालेको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ।

एक सातामा अस्वाभाविक रुपमा वन डढेलो बढेको डिभिजन वन कार्यालय देउखुरीका प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभयो । एक सातामा देउखुरी क्षेत्रमा लागेको डढेलो अस्वाभाविक रुपमा बढेको छ ।

“हामीले वन डढेलो नियन्त्रणका लागि जति प्रयास गरे पनि अहिलेको अवस्था हेर्ने हो भने नियन्त्रणभन्दा बाहिर गइसकेको छ”, उहाँले भन्नुभयो, “चुरे क्षेत्रमा रहेका वनमा डढेलोको प्रभाव निकै परेको छ । वन डढेलो नियन्त्रणको प्रयास भइरहेको छ तर रोक्न सकिएको छैन । दिउँसो खासै देखिँदैन, राति कहाँ कुन ठाउँमा लागेको छ, प्रस्टै देखिन्छ ।”

बितेको एक सातामा देउखुरी क्षेत्रमा एक हजार एक सय वन डढेलोले सखाप भएको उहाँँले बताउनुभयो । देउखुरी क्षेत्रमा रहेको एक लाख नौ हजार वन क्षेत्रमा एक सय ४५ वटा सामुदायिक वन छन् ।

उहाँले भन्नुभयो, “समुदायमा आधारित वन व्यवस्थापन कार्यक्रम, वन डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्निरेखा निर्माणलगायत सहजीकरण, सुरक्षा निकायलाई आवश्यक पर्ने डढेलो नियन्त्रणका सामग्री सहयोग, पूर्वतयारीसँगै डढेलो लागिहालेमा सुरक्षा निकाय, वन उपभोक्ता समूह, स्थानीय तह र सरोकारवालासँग समन्वयसँगै जनशक्ति परिचालनमा समेत समन्वय गर्ने र उपलब्ध सामग्री वितरण गर्ने काम हुँदै आएको छ ।”

डढेलोका कारण वन्यजन्तु र वनमा रहेको महत्वपूर्ण बिरुवा जलेर खरानी हुँदा करोडौँको क्षति भएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार दाङ क्षेत्रमा रहेका ५७ हजार एक सय ९१ हेक्टरमध्ये तीन सय ३३ हेक्टर वनमा डढेलो लागेको छ । यो क्षेत्रमा तीन सय ८१ वटा सामुदायिक वन रहेका छन् ।

डढेलो तुलसीपुर, बिजौरी, घोराहीको नारायणपुर, सुनपुर र धारापानी क्षेत्रमा लागेको उहाँले बताउनुभयो । “लामो समयको खडेरीका कारण गर्मी बढेसँगै वनजङ्गलका पातपतिङ्गर सुकेको अवस्था छ । यो बेलामा मानिसले नै जानाजान आगो लगाउने गर्दा डढेलो बढेको छ”, सूचना अधिकारी  केसीले भन्नुभयो, “वन जोगाउनुपर्छ भन्ने कुरा जान्दाजान्दै पनि वन जलाउने काम रोक्न सकिएको छैन ।”

अहिले वन डढेलो लागेको स्थान मानिसको सहज पहुँचभन्दा पर छ । जसले गर्दा नियन्त्रणको प्रयास गर्दा पनि सम्भव नभएको डिभिजन वन कार्यालयले जनाएको छ।

“मानिसले आफ्नो स्वार्थका लागि सहज पहुँचमा नभएका स्थानमा आगो लगाउने परिपाटीले अझ समस्या थपेको छ”, सूचना अधिकारी केसीले भन्नुभयोे, “सरकारी निकायबाट डढेलोबाट हुने क्षति न्यूनीकरणका लागि अग्नि रेखा निर्माण, मर्मत र सरसफाइ गर्ने काम भइरहेको छ । वन क्षेत्रमा लागेको डढेलो निभाउने, जनचेतनामूलक कार्यक्रमहरु चलाउने र वन क्षेत्रको पत्कर व्यवस्थापनको काम गर्ने गरेको छ ।”

डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत रामगोपाल चौधरीले डढेलो नियन्त्रणका लागि उपभोक्ताको परिचालन मुख्य विषय रहेको बताउनुभयो । “यसका लागि वन कार्यालयले काम गरेको छ”, उहाँले भन्नुभयो, “उपभोक्ता सक्रिय नभएको क्षेत्रमा डढेलो फैलिने गरेको छ, उपभोक्ता गम्भीर हुनु जरुरी छ ।”

सरकारी र समुदायस्तरबाट डढेलो नियन्त्रणका लागि सचेतना अभियानहरु चले पनि वन क्षेत्रमा आगो फैलिने क्रम रोकिएको छैन । डढेलो लाग्नै नदिन केही दिनअघि मात्रै सचेतना अभियान सकिएको छ तर डढेलो लागिहालेको अवस्थामा नियन्त्रणका सामग्री र जनशक्तिको अभाव देखिएको छ ।

कतिपय सामुदायिक वनले आफ्नो वन क्षेत्रमा लाग्ने डढेलो एक ठाउँबाट अर्को ठाउँमा फैलन नदिन अग्नि रेखा बनाउने काम गरेका छन् । अग्नि रेखामा खसेको पातबाट आगो फैलिन सक्ने जोखिम हुने भएकाले सफा राख्ने गरिएको छ तर डढेलो लागि हालेको खण्डमा भने नियन्त्रणका लागि सामग्री पर्याप्त सामग्री नहुँदा समस्या  हुने गरेको छ ।

बितेको पाँच वर्षमा आर्थिक वर्ष २०७६र७७ मा मात्रै शून्य वन डढेलोको वर्ष घोषित भएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी केसीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०७७र७८ मा एक सय ५१ स्थानमा आगो लागेकामा तीन सय २२ हेक्टरमा फैलिएको थियो । आव २०७८र७९ मा ३१ स्थानमा फैलिएको डढेलो चार सय ६६ हेक्टर क्षेत्रफलमा फैलिएको तथ्याङ्क छ ।