अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै


कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दोस्रो पटक शनिबार विश्वासको मत लिँदै हुनुहुन्छ। मुख्यमन्त्री अधिकारीले आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिन लाग्नुभएको हो। ‘‘संविधानको अक्षरशः पालना गर्दै शनिबार विश्वासको मत लिन्छु । पुनः विश्वासको मत पाउँछु भन्ने मेरो विश्वास हो,’’ शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री अधिकारीले भन्नुभयो।

विश्वासको मत लिन मुख्यमन्त्री अधिकारीले केही दिन अघि प्रदेश सभा सचिवालयमा पत्र पठाउनुभएको थियो । पत्रमा लेखिएको, “संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मतको लागि प्रदेश सभा समक्ष यो प्रस्ताव गरेको छु । मिति २०८०/०१/०९ गते शनिबारका दिन बस्ने प्रदेश सभाको बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि गण्डकी प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम यो सूचना दिएको छु ।’

अधिकारीले विश्वासको मत नपाए ठूला दलको हैसियतले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेससँग २७, नेकपा (एमाले)सँग २२, नेकपा (माओवादी केन्द्र) सँग ८, राप्रपा २ र एकीकृत समाजवादीसँग १ सांसद छन् ।