अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गोविन्द भट्टराईले हार स्वीकार्दै भन्नुभयो: आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ !

गोविन्द भट्टराईले हार स्वीकार्दै भन्नुभयो: आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ !


तनहुँ – तनहुँ १ का नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले हार स्वीकार्दै मतदाता प्रति आभार व्यक्त गर्नुभएको छ। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भट्टराईले हार स्वीकार गर्दै आफूलाई अब्बल प्रमाणित गर्न नसकेको उल्लेख गर्नुभएको हो।

जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेसँग १० हजार मत अन्तरले पछि परेका उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छ, ‘मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ ।’

चुनावी घरदैलोका क्रममा विगतप्रतिको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्दै उहाँले सानो खुशी पनि दिलाएको महसुस भएको बताउनु भयो । उहाँले ठूला आदर्शभन्दा नागरिकका व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो राजनीतिक यात्राका क्रममा जनतासँगै रहेर काम गरेको बताउनुभयो ।

गोविन्द भट्टराईको स्टाटस जस्ताको जस्तै :

हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईंको पीडाले मलाई छोइरह्यो । ठूला आदर्शभन्दा तपाईंको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बीपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईंसँग रहेको हुँ । यसक्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईंसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ ।

मलाई विश्वास गरेर सधैं सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईं सबैप्रति आभार प्रकट गर्दछु ।

चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुशी पनि दिलाएको महसुस गरें । साथै, मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु ।

सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईंको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरुको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

उही तपाईंको
गोविन्द