काठमाडौं – नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेलाई प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले बधाई दिनु भएको छ ।
आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिनिधिसभा सदस्यमा विजयी भएपछि भट्टराईले वाग्लेलाई बधाई दिनु भएको हो।
कांग्रेसका भट्टराईले भन्नुभयो, ‘चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिस्पर्धा रह्यो। र, संयोगले तपाईँ निर्वाचित हुनुभयो। मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईँले सक्नुभयो।’
उहाँले यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा आफू प्रतिको विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब डा वाग्लेको अभिभारा बन्न पुगेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रूपमा निरन्तर खटेको हुँ। अब पनि खटिरहनेछु। अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ।’
तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार वाग्ले ३४ हजार ४८० मतसहित विजयी हुनु भएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी भट्टराईले २० हजार ९२ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ५५५ मत ल्याउनु भयो ।






प्रतिक्रिया