काठमाडौं – प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले वर्तमान गठबन्धन सरकारको असफलताका कारणा देश गम्भीर आर्थिक संकटमा परेको बताउनुभएको छ।
आज प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै आचार्यले सरकारले पूर्व कर्मचारीको पेन्सन, सामाजिक सुरक्षा भत्ता, शिक्षक र प्रहरीको तलब तथा विकास आयोजनाका काम रोकोको बताउनुभयो । विकास आयोजनाको कामको भुक्तानी रोकिएको तथा सबै विकासका काम रोकिएको भन्दै आचार्यले चिन्ता व्यक्त गर्नुभयो।
उद्योग व्यवसाय संकटग्रस्त भएको बताउँदै आचार्यले धेरै उद्योगी व्यवसायीका सटर बन्द भएको बताउनुभयो । देश चरम आर्थिक मन्दीमा भए पनि मूल्य वृद्धि भने आकासिएको उहाँको भनाइ छ। ब्याजदर बढाएर जमिनदारको ठाउँ बैँकले लिएको उहाँले बताउनुभयो । यस्तो अवस्थामा पनि बैँकहरुले खरबौँ रकम जम्मा गरेका उहाँले सुनाउनुभयो ।
सहकारीलाई नियमन गर्ने निकायले उचित नियमन नगरी आतंकित बनाउने काम गरेका उहाँले बताउनुभयो । सहकारी र लघुवित्तलाई संकटमा पार्ने काम भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यहाँ अराजकता छ, त्यहाँ नियमन गर्ने, नियन्त्रण गर्ने कुनै तत्त्व छैन।’
राष्ट्रिय गौरवका योजना निर्माणको काम ठप्प बनाएर राजश्व संकलनको कामलाई नै ठप्प बनाइएको उहाँले बताउनुभयो । सीमा नाकामा कडाइ नगरिँदा राजश्व संकलनमा अराजकता पैदा भएको उहाँको भनाइ छ ।
प्रतिक्रिया