अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

केपी ओलीको नेतृत्वमा नै एमालेले घेराबन्दी तोडेर अघि बढ्छ : सूर्य थापा

केपी ओलीको नेतृत्वमा नै एमालेले घेराबन्दी तोडेर अघि बढ्छ : सूर्य थापा


काठमाडौं -नेकपा एमालेका पोलिटव्यूरो सदस्य सूर्य थापाले उपनिर्वाचनको परिणामलाई लिएर एमाले विरोधी दुराशयुक्त प्रचारको भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।
थापाले सामाजिक सञ्जालमा लेख्दै थापाले उपनिर्वाच्नमा एमालेले करिब १५ हजार मत गुमाए पनि बारामा विगतमा भन्दा मत बढाएको उल्लेख गर्नुभएको छ । दुईवटा निर्वाचन क्षेत्रको परिणामलाई लिएर पुरानालाई होइन,नयाँलाई भन्ने भाष्य निर्माण गरिने खेदजनका भएको थापाको भनाइ छ । थापाले एमाले विरोधीको यस प्रकारको दुष्टतापूर्ण हर्कतको प्रचारको भ्रममा नपर्ने पहिलो दायित्व एमालेजनको नै भएको बताउनुभएको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र जबजको मार्गदर्शनमा पार्टीले यस्ता घेराबन्दीहरू छिचोलेर सफलताहरू चुम्दै अघि बढ्ने र भविष्यमा सफलता हासिल गर्ने दाबी थापाको छ । थापाले सामाजिक सञ्जालमा यस्तो लेख्नु भएको छ ।
नेकपा एमाले राणा, पंचायत, काङ्ग्रेस, राजा र माओवादीले अलगअलग रूपमा समाप्त पार्न खोज्दा अझ शक्तिशाली बनेको आन्दोलन हो। यो एक्लैले देशीविदेशी प्रतिक्रियावादी शक्ति तथा पाँच र दशदलीय रंगीचंगी गठबन्धनलाई हायलकायल पारिरहेको शक्ति हो।उपचुनावमा हामीले झण्डै १५ हजार मत गुमाएका छौं,यसको तथ्यपरक र उचित समीक्षा गरिने नै छ। बारामा त विगतका दुई वटा आम चुनावमा उम्मेद्वार नहुँदा समानुपातिकतर्फ प्राप्त मतभन्दा यसपालि बृद्दि नै भएको छ।यसैलाई पुराना होइन, नयाँलाई भनेर गलत भाष्य निर्माणमा दुरूपयोग गर्न खोजिनु दुराशययुक्त र खेदजनक कोशिस मात्र हो। एमालेविरोधीहरूको दुष्टतापूर्ण प्रचार हर्कतको भ्रममा नपर्ने पहिलो दायित्व एमालेजन र यसको नेतृत्वमा मुलुकको समुज्वल भविष्य निर्माण गर्न चाहनेहरूको नै हो। व्यक्तिगत असन्तुष्टि, कुण्ठा र गुनासोलाई बहाना बनाएर पार्टीमाथि प्रहार गर्न नेतृत्वमाथि हिलो छ्याप्न उद्दत हुनु कोही कसैका लागि बुद्दिमत्तापूर्ण कार्य नहुने निश्चित छ। अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्व र जबजको मार्गदर्शनमा पार्टीले यस्ता घेराबन्दीहरू छिचोलेर सफलताहरू चुम्दै अघि बढ्नेछ।र,भविष्यमा हामीले अवश्य नै जित्नेछौं।
प्रतिनिधिसभामा निर्वाचित नयाँ सदस्यहरूलाई हार्दिक स्वागत छ। यसपालि डा. स्वर्णिम वाग्ले, रवि लामिछाने र उपेन्द्र यादवले निर्वाचन जित्नुभएकोमा बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।