अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली माथी आक्रमण प्रयासको चौतर्फी निन्दा,युवा संघद्वारा प्रतिवादको चेतावनी

अध्यक्ष ओली माथी आक्रमण प्रयासको चौतर्फी निन्दा,युवा संघद्वारा प्रतिवादको चेतावनी


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झापामा भएको आक्रमण प्रयासको पार्टीका विभिन्न निकायले घोर निन्दा गरेका छन् ।
पार्टी केन्द्रीय कार्यलयका तर्फाट प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टले जारी गरेको विज्ञप्तीमा झापाको बुद्धशान्ती गाउँपालिकामा आयोजित कार्यक्रममा जाने क्रममा उच्छृंखल समुहले दुव्र्यवहार गरेको उल्लेख गर्नु भएको छ ।
‘समाजमा शान्ती र मेलमिलाप भंग गर्ने नियोजित षडयन्त्र स्वरुप सत्तापक्ष कै कार्यकर्ता समेतको नेतृत्वमा भएको यस घटनाको हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ’ विज्ञप्तीमा भनिएको छ ‘यस्ता अवाञ्छित कार्यमा संलग्नहरु माथी कडा कानुन कारबाही गर्न माग गर्दछौं ।’


यसैगरी राष्ट्रिय युवा संघ नेपालले अध्यक्ष ओलीप्रति भएको आक्रमणको प्रयासको कडा शब्दमा आपत्ती जनाएको छ । अध्यक्ष क्षितिज थेबेले जारी गरेको विज्ञप्तीमा अनेकतामा एकता,सामाजिक सद्भाव र सहिष्णुता नेपालको विशिष्ट पहिचान हो र यसलाई जीवन्तता दिनु हाम्रो कर्तव्य भएको स्मरण गराइएको छ । ‘राष्ट्रियता,लोकतन्त्र,स्वतन्त्रता,सामाजिक न्याय र जनजिविकाको आन्दोलनमा आफ्नो जीवन समपर्ण गर्नु भएका समृद्ध नेपाल,सुखी नेपालीका नायक माथी अलोकतान्त्रिक तवरले हमला गरिनु नेपाली जनता माथीको सपना माथि गम्भिर प्रहार हो’ थेबेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘यस्तो अलोकतान्त्रिक झुण्डलाई कानुनी कारबाही गर्न जोडदार माग गर्दछौं । ’ थेबेले अध्यक्ष ओली माथीको आक्रमणको प्रयासको युवा संघ नेपालले प्रतिवाद गर्ने भएकोले युवा संघका सबै कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।


यसैगरी एमाले झापा जिल्ला कमिटीका अध्यक्ष दिपक कार्कीले पनि विज्ञप्ती जारी गरेर घटनाको निन्दा गर्नुभएको छ । ‘पहिचानवादीमा नाममा भएको यस प्रकारको हर्कतको घोर भत्सर्ना गर्दछु ’कार्कीले जारी गरेको विज्ञप्तीम भनिएको छ ‘प्रदेशसभाका ९० प्रतिशत भन्दा बढीको समर्थनमा कोही प्रदेश नामाकरण गरिएको भन्ने कुरालाई विर्सिएर सम्मानीय पूर्व प्रधानमन्त्री माथी अभद्र व्यवहार गर्नु निन्दनीय छ ।’

अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्ती यस्तो छ :

प्रेस विज्ञप्ती

सम्माननीय पूर्व प्रधानमन्त्री तथा हाम्रो पार्टी नेकपा एमालेका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने नाममा झापाको बुद्धशान्ति गाउँपालिकाको बुधबारे बजार क्षेत्रमा पहिचानवादीको ब्यानरमा आज गरिएको अभद्र ब्यवहार खेदजन्य घटना हो । प्रदेश नम्बर १ लाई यहाँ निर्वाचित प्रदेशसभा सदस्यहरुको ९० प्रतिशतभन्दा बढीको समर्थनमा ‘कोशी प्रदेश’ नामाकरण गरिएको भन्ने कुरालाई चटक्कै बिर्सिएर सम्माननीय पूर्व प्रधानमन्त्रीमाथि अभद्र ब्यवहार गर्नु निन्दनीय छ । हाम्रो पार्टी पहिचानवादीका नाममा गरिने यसप्रकारका अलोकतान्त्रिक र असभ्य चरित्रको घोर भत्सर्ना गर्दछ । ‘कोशी’ नाममा यस प्रदेशका सबै जातजातिको पहिचान अटाएको छ । धेरै जातजाति र पहिचान भएको ठाउँमा एकल जातीय पहिचानलाई समेट्नु भन्नु आफैंमा असान्दर्भिक तर्क हो । एकल पहिचान खोजेर राष्ट्रिय एकतालाई खलबलाउनु उचित हुँदैन । अझ प्रदेशको नाम संविधान बमोजिम जननिर्वाचित संसदको बहुमतले पारित गरेकोले यसको विरोधका नाममा हुलहुज्जत गर्नु ठिक नभएको हाम्रो निश्कर्ष छ । यसैबीच, सम्माननीय पूर्व प्रधानमन्त्री तथा हाम्रो पार्टी नेकपा एमालेका श्रद्धेय अध्यक्ष ओलीमाथि अभद्र व्यवहार गर्न खोज्नेहरुलाई रोक्नेक्रममा, कर्तव्य निर्वाहको शिलशिलामा केही प्रहरीहरु घाइते हुनुभएको छ । अध्यक्ष ओलीलाई आक्रमण गर्न खोज्ने प्रदर्शनकारीहरुले हानेको ढुंगा लागेर इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक अनिल मावोहाङ र सहायक हवल्दार सोमित राजवंशी घाइते हुनु भएको जानकारी पाइएको छ । उहाँहरुको उचित एवम् शीघ्र उपचारको ब्यवस्था गर्न सरकारसक्षम माग गर्दै विरोधका नाममा हुलहुज्जत गर्ने र सुरक्षाकर्मी माथि ढुंगा हान्नेलाई तत्काल पक्राउ गरी कडा कारबाहीका लागि जोडदार माग पनि गर्दछौं ।

दिपक कार्की, अध्यक्ष नेकपा एमाले झापा जिल्ला कमिटी

मितिः २०८० वैशाख १३ गते