जनकपुरधाम – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्ता प्राप्तिका लागि एमाले सरकार भत्काउने तथा निर्माणको खेलमा नलाग्ने बताउनु भएको छ।
जनकपुरधाममा संचारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै पोखरेलले सरकार बनाउने र भत्काउने खेतीपातीमा वर्तमान सत्ता गठबन्धन लागेपनि त्यसमा एमाले नलाग्ने बताउनु भएको हो । तर परस्थिति अनुसार एमालेले आफ्नो निर्णय गर्ने उहाँले बताउनु भयो ।
वैशाख १० गते सम्पन्न उपनिर्वाचनपछि अब गठबन्धनमा फेरबदल वा टुट्न सक्ने अवस्थाको सिर्जना हुन सक्ने बताउँदै पोखरेल परिस्थिति अनुसार एमालेले आफ्नो भूमिका निभाउने उहाँको भनाइ थियो। उहाँले भन्नुभयो, ‘यो गठबन्धन टिकाउ छैन, के परस्थिति सिर्जना हुन्छ त्यसअनुसार नै हाम्रो भूमिका हुन्छ, यद्यपि सरकार बनाउने र बिगार्ने खेलमा एमाले लाग्दैन ।’
नेता पोखरेलले यो गठबन्धन मुलुकका लागि दुर्भाग्य रहेको टिप्पणी गर्नुभयो । उहाँले वर्तमान गठबन्धन लोकतन्त्रको हितमा नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो गठबन्धनले लोकतान्त्रिक मूल्यमान्यताको धज्जी उडाइरहेको छ, संविधानको हितविपरीत काम समेत गरिरहेको छ।’
वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखा परेको बताउँदै पोखरेलले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता र देश बनाउने नेतृत्व एमालेले गरिरहेको दाबी गर्नुभयो । उहाँले वर्तमान गठबन्धन सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको बताउनु भयो ।






प्रतिक्रिया