काठमाडौं-नेकपा एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले बुधबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी झापाको बुधबारे क्षेत्रमा गरिएको हमलाप्रति निन्दा गरेको छ।
महासंघका अध्यक्ष पासाङ शेर्पाले सो घटनाप्रति एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाउनु भएको हो।
विज्ञप्तिमा भनिएको छ, ‘पहिचानको आन्दोलनको नाममा विगत केही दिनयता कोशी प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्रीहरू, प्रदेशसभाका सदस्यहरु र नेकपा एमालेका नेताहरूमाथि मात्र लक्षित गरी व्यक्तिगत गालीगलौज, सामाजिक दुर्व्यवहार र भौतिक हमला गर्ने जस्ता निकृष्ट किसिमका कुकृत्यहरूकै निरन्तरताको रुपमा प्रकट भएको यो घटनाबाट आन्दोलनकारीहरुको अभीष्ट पहिचान स्थापित गर्नु नभई एमालेमाथि सुनियोजित किसिमले प्रहार गर्नु मात्र रहेछ भन्ने तथ्य प्रमाणित भएको छ।’
सामाजिक सद्भावरएकतालाई कमजोर बनाउने, साम्प्रदायिक विद्वेश फैलाउने र क्रमशः अपराधीकरण तर्फ उन्मुख यस्तो वद्नाम आन्दोलनले अन्ततः सिंगो आदिवासी जनजाति आन्दोलन र पहिचानको मुद्दालाई नै ध्वस्त पार्ने विज्ञप्तिमा भनिएको छ।
असामाजिक, अराजनीतिक र अराजक गतिविधिहरुमा संलग्न नहुन र सामाजिक न्याय एवं संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणको पक्षमा दृढतापूर्वक उभिन एमाले सम्बद्ध आदिवासी जनजाति समुदायलगायतलाई अपील गरेका छन् ।







प्रतिक्रिया