अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्छौं: रवि लामिछाने

सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्छौं: रवि लामिछाने


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन सक्ने बताउनुभएको छ।

सभापति लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै वर्तमान सरकारलाई रास्वपाले दिएको समर्थन फिर्ता लिन सक्ने बताउनुभएको हो ।

उहाँले आफूहरुलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरुले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकाले आफूहरुको आपत्ति रहेको जानकारी दिनुभयो । उहाँले सरकारलाई दिएको समर्थनको सम्बन्धमा गम्भीर समिक्षा गरेर मात्रै अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

‘हामीले आम नागरिकसँग भोट मागिरहँदा हाम्रो सबैभन्दा महत्त्वपूर्ण विषय र हामीलाई सबैभन्दा बढी आम नागरिकले भोट दिएको हामीलाई लागेको विषय भनेको मुलुकको भ्रष्टाचारको अन्त्यको विषय हो । जसमा हामीले कुनैपनि कालखण्डमा भएका भ्रष्टाचारको छानविन हुनुपर्छ भनेका थियौँ’ सभापति लामिछानेले भन्नुभयो, ‘त्यो नै न्यूनतम साझा कार्यक्रमबाट सरकारले हटायो। त्यसमा हाम्रो गम्भीर भन्दापनि गम्भीर आपत्ति छ। किनभने मतदाताले हामीलाई केही थान मान्छेलाई संसदमा पठाएको होइन । निश्चित एजेण्डासहित एउटा म्याण्डेड दिएर पठाएको हो । जुन वाचा गरेर हामी आएका थियौँ अझ निर्मम हुनुपर्ने कुरालाई भएको पनि हटाएको कुरामा हाम्रो गम्भीर आपत्ति छ । यसमा गम्भीर समिक्षा गरेर मात्रै अगाडि बढ्छौँ ।’

सभापति लामिछानेले आफूहरुले मुलुकमा अस्थिरता नहोस् भन्ने चाहेको भए पनि सरकारलाई दिएको समर्थनबारे पुनः मूल्याङ्कन गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।