अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीले लगेको ९५ करोड रुपैयाँ खोइ ? : पदम गिरी

माओवादीले लगेको ९५ करोड रुपैयाँ खोइ ? : पदम गिरी


काठमाडौँ – नेकपा एमालेले माओवादीका पूर्व लडाकुका नाममा जनही रु.२ लाख रुपैयाँ दिन लागेको भन्दै त्यसको विरोध गरेको छ।

आज प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले करीब ४८ सयभन्दा बढी व्यक्तिहरूलाई राज्य कोषको ढुकुटीबाट दुई/दुई लाख नगद निकालेर बाँडिन लागेको भन्दै आपत्ति जनाउनु भयो ।

प्रमुख सचेतक गिरीले आर्थिक रूपमा कमजोर अवस्थामा रहेका बेला देश लुट्ने काम भइरहेको बताउँदै सो कुराको खारेज गर्न अन्यथा जुनसुकै कदम चाल्न सक्ने चेतावनी समेत दिनुभयो । 

उहाँले अनमिनले प्रमाणीकरण गर्ने बेलामा कति व्यक्ति थिए भन्ने एकिन नभई माओवादीले रु. ९५ करोड रुपैयाँ पैसा बुझेर गएको भन्दै त्यो पैसा कहाँ गयो भन्दै प्रश्न गर्नुभयो । गिरीले भन्नुभयो, ‘माओवादीका अयोग्य लडाकुका नाममा करीब ४८ सय भन्दा बढी व्यक्तिहरूलाई राज्य कोषको ढुकुटीबाट दुई दुई लाख नगद निकालेर बाँडिँदै छ भनेर सुनिएको छ । हामीलाई भन्नुपर्ने के छ भने १ अर्ब ४० करोड रुपैयाँ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नका लागि भनेर चालू आर्थिक वर्षमा छुट्टाइयो । आज सत्य निरूपण तथा मेलमिलापको काम थाँती राखिएको छ, त्यतातिर सरकारको ध्यान चिन्ता छैन । पैसा निकालेर लडाकुहरूको नाममा पैसा बाँडिन्छ ।’

एमालेका प्रमुख सचेतक गिरी भन्नहुन्छ , ‘हाम्रो सरकारलाई प्रश्न छ, हिजो अनमिनले प्रमाणीकरण गरेका लडाकुहरू पछि पुन:प्रमाणीकरण हुँदा खेरी २ हजार ४५१ जना को व्यक्ति थिए भन्ने यकिन गर्न सकिएन । ती व्यक्ति कहाँ हराए थाहा भएन । तिनका नाममा तत्कालीन नेकपा माओवादीले ९५ करोड रुपैयाँ पैसा बुझेर गयो । त्यो पैसा कहाँ गयो ? महालेखाले प्रतिवेदनमा प्रश्न उठाएको छ । त्यसको जवाफ आज पनि अनुत्तरित अवस्थामा आज पनि रहेको छ।’

उहाँले शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन काम नगर्ने तर देशको ढुकुटीबाट पैसा लगिरहने भन्दै प्रश्न गर्नुभयो । जनताले दाल चामल किनेर खान नसक्ने अवस्थामा देश लुट्ने काम भइरहेको बताउँदै गिरीले सो कुराको खारेज गर्न समेत माग गर्नुभयो।