तेह्रथुम- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकाबाट हटेपछि विकासका काम रोकिएका बताइनुभएको छ।
आज तेह्रथुमको आठराईस्थित तेह्रथुम बहुप्राविधिक शिक्षालय भवनको उद्घाटन गर्दै ओलीले आफ्नो जन्मस्थलमा निर्माणाधीन विकासका काम रोकिएको भन्दै सरकारको आलोचना गर्नुभयो।
अध्यक्ष ओलीले पहिचानको नाममा आफ्नो विरुद्ध प्रदर्शन गरिएको प्रति पनि आलोचना गर्नुभयो । विकासका काम गरेर विद्यालय उद्घाटन गर्न आउँदा किन विद्यालय बनाएको ? किन उद्घाटन गर्न आएको ? भनेर बच्चाहरू उफ्रिएका भन्दै उहाँले आश्चर्य व्यक्त गर्नुभयो ।
कार्यक्रम स्थलमा ओली जाँदै गर्दा कोसी नामाकरणको विरुद्ध केहीले कार्यक्रम स्थल नजिकै नारा लगाएका थिए । ‘केही मान्छेले केही समय कुरा बुझ्दैनन्, कराइरहन्छन्, हामी विकासको काम गरिरहन्छौँ’, ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले पहाडका बाँझो जग्गामा जे लगाए पनि फल्ने बताउनुभयो । तर केही नै नगरेपछि केही पनि नहुने उहाँले बताउनुभयो । आठराईमा कृषि, पशुपालन, हाँस, कुखुरा पालन सबैको राम्रो सम्भावना रहेकोको ओलीले सुझाउनुभयो । कृषि र पशुपालनबाट राम्रोसँग जीविका चलाउन सकिन उहाँले प्रष्ट पार्नुभयो ।
ओलीले अहिलेको सरकारको बारेमा आफू केही नबोल्ने बताउनुभयो । आफैँ मर्न लागेको सरकारलाई विरोध गरेर आफूले अबगाल नलिने ओलीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले गर्दा पो हो कि भन्ने किन अबगाल लिने, बेकारको, अहिलेको गठबन्धन सरकार आफैँ समाप्त हुँदैछ, आफैँ असफल हुँदैछ, त्यसको बारेमा म किन बोल्ने भनेर बोल्न चाहन्न ।’
अहिले आर्थिक अवस्था डामाडोल भएकोले अवस्था जटिल रहेको ओलीले बताउनुभयो । त्यसलाई कसरी सम्हाल्ने भन्नेमा एमाले गम्भीर रहेको उहाँले सुनाउनुभयो । ‘हेर्दा हेर्दै देशलाई बरबाद हुन दिनुभएको छैन, त्यसको उपाय हामी गर्छौ’, उहाँले भन्नुभयो । देशलाई अघि बढाउन सबैले आफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेमा ओलीले जोड दिनुभयो । देश विकासको लागि आफू दत्तचित्तका साथ लाग्ने ओलीले वचन दिनुभयो ।
सो शिक्षालय भवन बनाउन ओलीको नाममा स्थापना भएको ट्रष्टले जग्गा दान गरेको थियो । ट्रष्टको अध्यक्ष ओली पत्नी राधिका शाक्य हुनुहुन्छ ।
कार्यक्रममा ओलीकी धर्मपत्नी राधिका शाक्य, एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरू समेत सहभागी हुनुभएको थियो ।
प्राविधिक शिक्षालयमा तीन वर्षदेखि कृषि र पशु स्वास्थ्य तर्फ डिप्लोमा कक्षा सञ्चालन हुँदै आएको छ । शिक्षालयको ८० जना विद्यार्थी क्षमता रहेको छ ।
ओलीले शुक्रबार नै आठराईमा खानेपानी योजनाको पनि शिलान्यास गर्नुभएको छ । सो योजना बनेपछि गाउँमा खानेपानीको समस्या हल हुने उहाँले बताउनुभयो । खानेपानीको समस्या समाधान भएपछि सिँचाइमा पनि केही सहयोग पुग्ने उहाँले प्रष्ट पार्नुभयो ।






प्रतिक्रिया