काठमाडौं- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने प्रचण्डपथ कोशी प्रदेशमा सफल नबन्ने बताउनु भएको छ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले सो कुरा बताउनु भएको हो।
सचिव भट्टराईले कोशी प्रदेश नामाकरणको बिरोध शान्तिपूर्ण रुपमा गर्न पाउने भएपनि नेकपा (माओवादी केन्द्र)का संगठनहरुले नै प्रमुख प्रतिपक्षी दलका नेतामाथि आक्रमणको प्रयास गर्नु आपत्तिजनक रहेको बताउनु भयो।
उहाँले अहिले एउटा राजनीतिक दल नेकपा एमाले लक्षित गरी आक्रमण भइरहेको पनि बताउनु भयो ।
अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि लागू गर्न खोजिएको हो भने कोशी प्रदेशमा सह्य नहुने चेतावनी समेत उहाँले दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेशको नामाकरण र प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेश सभालाई हुन्छ। प्रदेश सभाले त्यो निर्णय गरेको हो । त्यो निर्णय गर्ने संवैधनिक अधिकार प्रदेश सभालाई छ । प्रदेश १ ले पनि निर्णय लियो, त्यसमा मुख्यमन्त्री हिक्मत कार्कीले सामान्य समन्वय गर्नुभयो । उहाँले नेपालका शीर्ष राजनीतिक दलका शीर्ष नेताहरुसँग छलफल गर्नुभयो। त्यो समन्वयको आधारमा प्रदेश सभाले निर्णय गरेको हो। मधेश प्रदेश नामकरण गर्दा एमालेले विरोध जनाएको थियो, त्यो पनि स्मरण होस् । हामी असहमत छौं, तर प्रदेश सभामै त्यो विषयमा छलफल गर्छौं । सक्यौं भने दुईतिहाई बहुमत पुगाएर त्यो उल्ट्याउँछौं । असहमत हुने अधिकारको सम्मान गर्छौं ।’
‘नेकपा एमाले केन्द्रित लक्षित जुन आक्रमण छ, त्यो आक्रमणले हामीलाई कतै सत्ता केन्द्रित दलहरु नै संलग्न छैनन् ? भन्ने शंका छ,’ भट्टराईले भन्नभयो, ‘प्रधानमन्त्री स्वयंले नै आगोमा घिउ थपिरहनुभएको छ। प्रधानमन्त्रीले सहमति दिनुभयो, पार्टी फिर्ता हुन्छ भन्नुभयो नामाकरणपछि। आएको रिपोर्टमा माओवादीका साथीहरु संलग्न भएका छन् भन्ने छ। त्यो कुरा पुलिस, प्रशासन, प्रधानमन्त्रीलाई थाहा छ । अराजकता मच्चाएर राज्य सत्तालाई असफल बनाउने र त्यहीमाथि टेकेर टाउकोमा हान्ने प्रचण्डपथ फेरि गू गर्न खोजिएको हो भने कोशी प्रदेशमा यो सम्भव छैन।’
सचिव भट्टराईले प्रधानमन्त्री दाहालले कोशी प्रदेश नाममाकरण गर्न सहमति दिएपछि पुनः फिर्ता लिनु गैरजिम्मेवारीपन भएको बताउनु भयो ।






प्रतिक्रिया