अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशको अर्थतन्त्र बरबाद भयो, सुधार गर्न सकिन्छ : पूर्वअर्थमन्त्री खतिवडा

देशको अर्थतन्त्र बरबाद भयो, सुधार गर्न सकिन्छ : पूर्वअर्थमन्त्री खतिवडा


हेटौँडा-पूर्वअर्थमन्त्री डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भए पनि सुधार गर्न सकिने अवस्थामा रहेको बताउनुभएको छ । 

संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमद्वारा बागमती प्रदेशसभा सदस्यहरूका लागि हेटौँडामा आयोजित दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनमा प्रदेशसभा सदस्यहरूको भूमिकासम्बन्धी अभिमुखीकरण कार्यक्रममा पूर्वगभर्नरसमेत रहनुभएका डा खतिवडाले अर्थतन्त्रलाई चलायमान बनाउन अर्थतन्त्रका बारेमा फैलिएको नकारात्मक कुराको अन्त्य हुनुपर्ने बताउनुभयो । 

“देशको अर्थतन्त्र बरबाद भयो, नेपाल पनि श्रीलङ्काको अवस्थामा पुग्न लाग्योजस्ता व्यप्त हल्लाले आर्थिक क्षेत्रमा शङ्काको वातावरण सिर्जना भएको हो”, उहाँले भन्नुभयो । त्यस्ता हल्ला रोकिए लगानी भित्रिन सक्ने उहाँले बताउनुभयो । “अहिले बैंकहरूसँग निक्षेप भएर पनि र कर्जा लिन सक्ने क्षमता भएका व्यवसायीले पनि कर्जा लिन डराइरहेको अवस्था छ । नकारात्मक हल्ला रोकिए अर्थतन्त्र चलायमान हुन्छ”, उहाँले भन्नुभयो । पूर्वमन्त्री खतिवडाले सरकारले लगानीको प्राथमिकता भने छुट्याउन सक्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा सभाध्यक्षसमेत रहनुभएका बागमती प्रदेशसभा सदस्य तथा नेकपा (एमाले)का प्रमुख सचेतक मधुसुदन पौडेल, संविधानसभा सदस्य तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, पूर्वउपसभामुख पुष्पा भुसाल, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रमका सल्लाहकार धर्म स्वर्णकारलगायतले दिगो विकासका लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने कार्य तथा कानुन निर्माणका विविध पाटाका बारेमा धारणा राख्नुभएको थियो ।