काठमाडौं- कोशी प्रदेशको चारदिने भ्रमणमा सकेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज काठमाडौं फर्कदै हुनुहुन्छ । पाँचथरको कार्यक्तम सकेर हिजो साँझ झापाको दमक स्थित आफ्नो निवासमा आउनु भएका अध्यक्ष ओली आज साढे ११ बजे भद्रपुर विमानस्थलबाट काठमाडौ फर्कने कोशी प्रदेशसभा सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।
थापाका अनुसार बैशाख १३ गते झापाको बुद्धशान्ती गाउँपालिकामा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभएको अध्यक्ष ओली कन्याममा बास बस्नु भएको थियो । १४ गते इलाममा पार्टीको जिल्ला परिषद बैठकलाई सम्बोधन गरेर अध्यक्ष ओली पाँचथरको फिदिममा बस्नु भएको थियो । बैशाख १५ गते आफ्नो जन्मस्थान तेह्रथुमको आठराईमा तेह्रुथम बहुप्राविधिक विश्व विद्यालयको उद्घाटन गर्नुभएको थियो । १५ गते पनि तेह्रथुमबाट फिदिममा नै बस्नु भएका अध्यक्ष ओलीले १६ गते बिहान त्यहाँ कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभयो । १६ गते साँझ झापाको दमक स्थित आफ्नो निवास आइपुग्नु भएका अध्यक्ष ओली आज काठमाडौं फर्कन लाग्नु भएको हो ।
हिजो साँझ झापामा त्यहाँ उपलब्ध स्थायी,पोलिटव्यूरो,केन्द्र,प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरुसँग आसन्न केन्द्रीय कमिटी बैठकका बारेमा छलफल भएको थापाले जानकारी दिनुभयो । अध्यक्ष ओलीको निर्देशन अनुसार उहाँकै निर्वाचन क्षेत्र दमकमा बैशाख २८ देखि ३० गतेसम्म केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकको उद्घाटनका कार्यकर्ताहरुको विशाल उपस्थितीका बीच गरिने भएकोले त्यसको तयारी गर्न अध्यक्ष ओलीले निर्देशन दिनुभएको छ । २९ र ३० गते विविध एजेण्डामा बैठक हुनेछ । ३१ गते केन्द्रीय सदस्यहरुलाई झापामा राजनीतिक ,पर्यटकीय र धार्मिक स्थलहरुको भ्रमण गराउने कार्यक्रम रहेको छ । झापा आन्दोलनका पाँचजना योद्धाहरुलाई गोली हानेर हत्या गरिएको ठाउँ सुखानी,उनीहरुको प्रतिमा निर्माण गरिएको ठाउँ सालबाडी,नेपालकै होचो भूमि कचनाकवल,धार्मिक स्थल अर्जुनधारा र किच्चकबध जस्ता ठाउँहरुको अवलोकन गराइने छ । यसैगरी नेपालकै नमुना खेतीको रुपमा कहलिएको गौरादह ५ को सामुहिक नमुना खेती, निर्माणाधिन दमक भ्यू टावर,भूटानी शरणार्थी शिविर,दमक सभा हल लगायत स्थानीय क्षेत्रका विकास निर्माणका नमुनाहरु देशका विभिन्न भागबाट आएका केन्द्रीय सदस्यहरुलाई अवलोकन गराउने कार्यक्रम रहेको छ ।
केन्द्रीय सदस्यहरुलाई अवलोकन गराउने ठाउँ र रुटबारे स्थानीय कमिटीमा छलफल गरेर टुंगो लगाइने थापाले बताउनुभयो ।






प्रतिक्रिया