काठमाडौँ । सभामुख देवराज घिमिरेले श्रम क्षेत्रको कानुनी विभेद अन्त्य हुँदै गएको बताउनुभएको छ । आज १३४औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै सभामुख घिमिरेले तलब, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा भने समस्याहरु यथावत् रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘श्रमिकको सम्मानका लागि श्रम क्षेत्रको कानुनी विभेद अन्त्य हुँदै गए पनि तलब, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा समस्याहरु यथावत् छन् । मजदुरको दैनिक जीवनमा तात्त्विक परिवर्तन नरहेको अवस्थामा श्रमिकको हितका लागि गम्भीरतापूर्वक सोच्नुपर्ने र श्रमिकमैत्री वातावरण बनाउन योगदान गर्नुपर्ने आवश्यकता छ । ट्रेड युनियन अधिकारको सही सदुपयोग भएको छ कि छैन भनेर श्रमसँग सम्बन्धित संघ संस्थाले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको छ ।’
उहाँले श्रमिक दिवसले सबै प्रकारका श्रमिकहरूको जीवनस्तरलाई माथि उठाउनुका साथै सुख, शान्ति र समृद्धिको दिशामा दृढ संकल्पका साथ अगाडि बढ्ने प्रेरणा मिलोस् भन्ने कामनासहित शुभकामना व्यक्त गर्नुभएको छ ।
सभामुख घिमिरले श्रमिक अधिकारको रक्षाका लागि सम्पूर्ण श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।







प्रतिक्रिया