चितवन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेकै मन्त्रालय दिन अहिले सजिलो नरहेको बताउनु भएको छ ।
चितवनमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले रवि लामिछानेले रोजेको मन्त्रालय दिन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘रविजीले स्वभावैले पहिलाको मन्त्रालय खोज्नु अस्वभाविक चाहिँ होइन । मलाई लाग्दैन उहाँ त्यसमै अडिग हुनु हुन्छ । तर अहिले उहाँले रोजेकै मन्त्रालय दिने अवस्था छैन । मैले यता गठबन्धनमा पनि सल्लाह गर्नुपर्छ । हामी सल्लाह गरेर टुंगो लगाउँछौँ । रोजेकै मन्त्रालय दिने भन्ने कुरा त्यति सहज छैन।’
प्रधानमन्त्री प्रचण्डले आइतवारको भेटमा रविले पनि यही मन्त्रालय चाहिन्छ नभनेको दाबी गर्नुभयो। ‘उहाँले पनि यही नै चाहिन्छ भन्नु भएको छैन। अहिले नै त्यो अवस्था बनिसकेको छैन’, उहाँले भन्नुभयो, ‘रविजीले भ्रष्टचारको फाइल सरकारले नखोल्ने रहेछ भनेको सुनेँ। उहाँले खपतका लागि भन्नु भयो होला अहिलेको सरकारले भ्रष्टाचारको फाइल नखोल्ने भनेको छैन। सरकारमा आउनु, कुन फाइल खोल्नुपर्छ म तयार छु।’






प्रतिक्रिया