अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालका कानून, विधि र प्रक्रिया पूरा गरेर प्रदेशको नामकरण भएको हो: मुख्यमन्त्री कार्की

नेपालका कानून, विधि र प्रक्रिया पूरा गरेर प्रदेशको नामकरण भएको हो: मुख्यमन्त्री कार्की


उर्लाबारी – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधान, प्रदेश सभा नियमावली र नेपालका सबै कानून, विधि र प्रक्रिया पूरा गरेर प्रदेशको नामकरण गरिएको बताउनुभएको छ।

मोरङको उर्लाबारीमा मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनुभएको हो।

नामकरणको विषय प्रदेश सभा सदस्यको नितान्त क्षेत्र अधिकारभित्रको कुरा भएको बताउँदै उहाँले ९१ प्रतिशत सदस्यले पारित गरेको विषय परिवर्तन नहुने बताउनुभयो । शान्तिपूर्ण विरोधको स्वागत गर्ने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘सात वर्षपछि प्रदेशले नाम पायो। गर्व गर्नुपर्ने विषय हो । छिटपुट विरोध सुरु भएको छ, यो अन्यथा होइन ।’ एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र आफूप्रति लक्षित विरोधले कुनै उपलब्धि प्राप्त नहुने उहाँको भनाइ छ ।  

नेपाल बहुजाती, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषी देश भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले कोशी नाम राख्दा कसैको पनि पहिचानमा बाधा नपुगेको बताउनुभयो । ‘नेपालकै सबैभन्दा ठूलो सम्पदाका रूपमा कोशी परिचित छ । कोशी कसैको विपक्षमा राखिएको नाम होइन’ उहाँले भन्नुभयो, ‘मुलुकको राजनीतिमा देखिरहेको नकारात्मक सङ्केतलाई सबैले मिलेर सामना गर्नुपर्छ ।’

कोशी प्रदेशमा निर्वाचित ६ वटै राजनीतिक दलका नेताहरूसँग सहमति गरेर प्रदेशको नामकरण टुङ्ग्याइएकाले अब विरोध गरेर नभई सहकार्य गरेर विकासका एजेण्डामा अघि बढ्न कार्कीले आग्रह गर्नुभयो । 

शिक्षा, रोजगारी र स्थानीय विकासका क्षेत्रमा मदन भण्डारी स्मृति प्रतिष्ठानले गरिरहेको योगदानको उहाँले प्रशंसा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष गुरुप्रसाद बरालको सभापतित्वमा भएको कार्यक्रममा प्रतिनिधि सभा सदस्य एलपी साँवा, रोम ओली लगायतले बोल्नु भएको थियो । कार्यक्रममा विभिन्न सङ्कायमा उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण भएका विद्यार्थीलाई सम्मानित गरिएको थियो ।