काठमाडौँ-इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगिताको बुधबार राति खेलिएको खेलमा मुम्बई इन्डियन्स विजयी भएको छ । मुम्बईले पञ्जाब किङ्सलाई ६ विकेटले हरायो ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित ओभरमा ३ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको मुम्बईले १८.५ ओभरमा ४ विकेट गुमाएर २ सय १६ रन बनाउँदै विजय लक्ष्य पार ग¥यो ।
मुम्बईको जितमा विकेटकिपर ब्याट्सम्यान इशान किसन र सूर्यकुमार यादबले अर्धशतकीय योगदान गरे । ओपनर इशानले ७५ रन बनाए । उनले केवल ४१ बलको सामना गरी ४ छक्का र ७ चौका प्रहार गरेका थिए । उनी म्यान अफ दि म्याच पनि घोषित भए ।
सूर्यकुमारले ३१ बलको सामना गरी २ छक्का र ८ चौकाको मद्दतले ६६ रन बटुले । तिलक बर्माले अविजित २६ र क्यामरुन ग्रिनले २३ रन बनाए । टिम डेभिडले पनि टोलीको खातामा अविजित १९ रन थपेका थिए । पञ्जाबका बलर नाथन एलिसले २ तथा ऋषी धवन र अर्शदीप सिंहले १/१ विकेट लिए ।
त्यसअघि पञ्जाबका लागि लियाम लिभिङस्टोनले अविजित ८२ रनको बनाएका थिए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल ४२ बलको सामना गरी ४ छक्का र ७ चौका प्रहार गरेका थिए ।-एजेन्सी
प्रतिक्रिया