अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत


गण्डकी- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ।

गण्डकी प्रदेशसभाको आजको बैठकमा उहाँले माग्नुभएको विश्वासको मतको प्रस्तावका पक्षमा ३५ मत प्राप्त भएको हो। उहाँलाई नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका सात र नेकपा एकीकृत समाजवादीको एक गरी ३५ मत प्राप्त भएको छ। प्रस्तावका विपक्षमा नेकपा एमालेका २२ प्रदेशसभा सदस्यको मत परेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई जना प्रदेशसभा सदस्य तटस्थ बस्नुभएको छ।

प्रदेशको मुख्यमन्त्रीमा यही वैशाख १४ गते नियुक्त हुनुभएका पाण्डेले १५ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। विश्वासको मत पाएसँगै पत्रकारसँगको भेटघाटमा मुख्यमन्त्री पाण्डेले अब सरकारका काम तीव्ररूपमा अघि बढ्ने बताउनुभयो। मन्त्रिपरिषद्लाई चाँडै नै पूर्णता दिने बताउँदै उहाँले यस सम्बन्धमा गठबन्धनका दलबीच छलफल भइरहेको जानकारी दिनुभयो।

सरकारका तर्फबाट आगामी नीति तथा कार्यक्रमको गृहकार्य भइरहेको उहाँको भनाइ थियो। पत्रकारको अर्को जिज्ञासामा उहाँले पछिल्ला समयमा अल्पमतको कामचलाउ सरकार भइसकेपछि केही योजनालाई बढाएको पाइएको बताउनुभयो। ती योजना आवश्यकताका आधारमा या राजनीतिक आग्रहका आधारमा बढाइएको सम्बन्धमा पुनःविचार गरिने उहाँले बताउनुभयो।