काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नेतृत्व गर्न पछि नहट्ने बताउनु भएको छ। उहाँले सय दिनमात्रै पनि सरकारको नेतृत्व गर्न पाए व्यापक सुधार गरेर देखाउने दाबी गर्नुभयो।
उहाँले पार्टीले सरकारको समर्थन फिर्ता लिएर प्रतिपक्षीमा बस्ने निर्णय गरेकाले रचनात्मक भूमिका निर्वाह गर्ने बताउनु भयो। तर सरकारको नेतृत्व गर्ने अवसरमा पाए त्यसलाई सदुपयोग गर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकार बनाउने र ढाल्ने खेलमा लाग्दैनौं। तर खेलले कस्तो भूमिका खेल्छ भन्ने पनि छ। हामी बेन्चमार्कभित्र रहेर निर्णय गर्छौं । देशमा अस्थिरता ल्याउनु हुँदैन भन्ने हाम्रो मान्यता हो। स्थिरताका लागि प्रधानमन्त्री बन्न परे पछि हट्दैनौं।’
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साविककै मन्त्रालय दिने प्रस्ताव गरेको स्वीकार्नुभयो। उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री प्रचण्डलाई सरकारमा आइदिए हुन्थ्यो भन्ने थियो। साविककै मन्त्रालय दिन पनि उहाँहरू तयार हुनुहुन्थ्यो। तर न्यूनतम साझा कार्यक्रममा अघिल्लो सरकारले ल्याएका कुराहरू समेटिएन। त्यहाँ जनताका लागि गर्ने धेरै कुरा थिए ।’






प्रतिक्रिया