काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १०-१० वटा दल भएर पनि सरकारलाई पूर्णता दिन नसकेको बताउनु भएको छ।
देशमा अस्थिरताको कारण सरकार र सरकारमा रहेका सत्तारुढ दल भएको भन्दै ओलीले सत्तारुढ दलहरू केवल सरकार परिवर्तनको खेलमा मात्र लागेको र विकास निर्माणको काम केही पनि गर्न नसकेको बताउनु भयो।
आइतबार संघीय संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘मंसिर ४ मा चुनाव भएको आज वैशाख २४ गते भइसक्यो । यी बितेका महिनासम्म सरकार परिवर्तनका खेलहरु मात्र भए । स्थानीय तहमा सरकार परिवर्तन गर्न नमिल्ने भएकाले हो नत्र त्यहाँ पनि यही खेल चलिरहन्थ्यो । प्रदेशमा त्यही खेल चलाइरहेका छन् । देशका लागि होइन, आफ्नो गुटगत स्वार्थ हेरेर त्यही काम गरिरहेका छन् ।’

१० वटा पार्टी मिलेर पनि सरकार बनाउन नसकेको ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘कोही छुट्दैछन् कोही भर्ती हुँदैछन्। अस्तिको दिनमा मात्र एउटा घटकले सरकारले छोड्यो। अस्ति कहिले तीन जना मन्त्री बल्ल थप्यो। अझै सरकारले पूर्णता पाउन सकेको छैन । १०–१० वटा पार्टीले सरकार बनाउन सक्दैन । गठबन्धन पनि कति हो टुंगो छैन । कहिले सात भन्या छ कहिले आठ, कहिले नौ, कहिले दश । राजनीतिक तामाशा देखाइएको छ ।’
उहाँले जनताको पक्षको केही काम नभएको भन्दै आक्रोश पोख्नभयो । केही कुप्रचार गरेर जनतालाई रनभुल्लमा पार्ने काम मात्र भएको उहाँको भनाइ छ।







प्रतिक्रिया