काठमाडौं – नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भनेको फिल्म हेर्न आफूहरू आतुर भएर बसेको बताउनु भएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद गिरीले सो कुरा बताउनु भएको हो।
प्रतिनिधि सभाको दोस्रो अधिवेशनको पहिलो बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक गिरीले नक्कली भुटानी शरणार्थीको विषयमा गत भदौमा राष्ट्रिय सभामा एमाले सांसद पार्वती रावलले उठाएको विषय सरकारले नसुनेको बताउनु भयो।
उहाँले जुनसुकै प्रकारका भ्रष्टाचार विषयलाई छानबिन गरी कानूनको दायरामा ल्याउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डलाई छानबिन गरी कारबाही गर्न चुनौती दिनुभयो।
उहाँले प्रधानमन्त्री प्रचण्डले अहिले गरेका काम टेलर मात्र भएको र फिल्म आउन बाँकी रहेको भन्ने भनाइलाई कटाक्ष गर्दै फिल्म हेर्न तयार रहेको बताउनुभयो ।
प्रमुख सचेतक गिरीले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँड्नुभएको छ भ्रष्टाचार सवालमा यो टेलरमात्रै हो फिल्म त आउँन बाँकी नै भन्दै हिँड्नुभएको छ। सम्माननीय प्रधानमन्त्री ज्यू, हामी फिल्म हेर्न आतुर छौँ, हामी तपाईले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौँ । फिल्म कहिले देखाउनुस् । हामीलाई अब विश्वास छ, वाइडबडी घोटलाकाण्ड के हो ? छानबिन गरौँ, बाँसबारी जग्गा घोटला काण्ड के हो ? बालमन्दिर जग्गा घोटला काण्ड, मातातीर्थ जग्गा घोटला काण्ड, यति काण्ड, ओम्नि काण्ड, लडाकु शिविरका घोटला काण्डमा अरवौ रुपैयाँ राज्यको सम्पत्ति लुटिएको थियो । सिसीटिभी फुटेज र बजेटमा बिचौलिया आएका काण्डहरु यो अधिवेशनमा अब गम्भीरताका साथ छलफल गरौँ । यस्ता काण्डमा परेकाहरूलाई एक एक गरेर कारबाही गर्न हामीले अब हिम्मत गर्नुपर्छ ।’
प्रतिक्रिया