विराटनगर – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वन क्षेत्रलाई प्रदेश सरकारले राजस्व सङ्कलन, मझौला उद्योग र रोजगारीसँग जोडेर लैजानुपर्ने बताउनु भएको छ।
पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित त्रैमासिक प्रगति समीक्षा गोष्ठिलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले प्रदेशभित्रका धेरै सामुदायिक वनहरुले राजस्वमा योगदान पुर्याइरहेको चर्चा गर्दै त्यस्ता सामुदायिक वनहरुसँग सहकार्यमा आवश्यक संरचना निर्माण गरी राजस्व सङ्कलनमा प्रदेश सरकार पनि जोडिनुपर्ने बताउनु भयो।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, ‘प्रदेशभित्रका केही सामुदायिक वन, तालतलैया र सिमसार क्षेत्रहरुमा आवश्यक संरचना निर्माण गरी तीनलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै राजस्व बढाउन सकिन्छ।’
सरकार एक्लै जाँदा सफल नभएको दृष्टान्त प्रस्तुत गर्दै मुख्यमन्त्री कार्कीले वनलाई पर्यटनसँग जोडेर लैजाँदा निजी क्षेत्रलाई पनि सँगसँगै लैजानुपर्नेमा जोड दिनुभयो ।
उहाँले खुल्ला चिडियाखानाको अवधारणाबारे वन मन्त्रालयले गरिरहेको अध्ययन आगामी आर्थिक वर्ष २०८०/८१ भित्र सकेर अर्को आर्थिक वर्षमा त्यसका लागि बजेट विनियोजन गर्ने वतावरण बनाउनुपर्ने बताउनु भयो ।







प्रतिक्रिया