अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संघ र प्रदेशका मन्त्रालय संख्या घटाऔं: पृथ्वीसुब्बा गुरुङ

संघ र प्रदेशका मन्त्रालय संख्या घटाऔं: पृथ्वीसुब्बा गुरुङ


काठमाडौं – नेकपा (एमाले) का सांसद पृथ्वीसुब्बा गुरुङले सङ्घ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनुपर्ने बताउनुभएको छ। 

आज प्रतिनिधि सभा बैठकमा बजेट पूर्वको छलफलमा सहभागी सांसद गुरुङले सङ्घमा मन्त्रालयको सङ्ख्या घटाएर १२ देखि १५ वटा मन्त्रालय बनाउनुपर्ने बताउनुभएको हो । त्यसैगरी प्रदेशमा मन्त्रालयको सङ्ख्या सात वटा कायम गर्नुपर्ने उहाँले बताउनुभयो। उहाँले मन्त्रालय धेरै हुँदा फजुल खर्च भएको भन्दै खर्च कटौतीका लागि मन्त्रालय सङ्ख्या घटाउन आवश्यक रहेको बताउनुभएको हो। त्यस्तै सङ्घीय सरकार अन्तर्गतको विभाग घटाएर १५ विभाग कायम गर्नुपर्ने र जिल्ला समन्वय समिति पनि खारेज गर्नुपर्ने उहाँले बताउनुभयो।

उहाँले भन्नुभयो, ‘सङ्घमा २५ वटा मन्त्रालय बनाउँदै छौँ । सङ्घीय शासनमा मुलुक गइसकेपछाडि प्रशासन सुधार, सुझाव आयोगले दिएको प्रतिवेदनको आधारमा के भन्छ भनेदेखि १२ देखि १५ वटा मन्त्रालय सङ्घमा चाहिन्छ। प्रदेशमा सात वटा मन्त्रालय चाहिन्छ। अहिले हामी प्रदेशमा १२/१३ वटा मन्त्रालय चलाउँदै छौँ, सातमा झारौँ । त्यो एउटा प्राथमिकता राखौँ । दोस्रो कुरा सङ्घको मन्त्रालय १२ देखि १५ राखौँ । त्यसले पनि धेरै फजुल खर्च अन्त्य हुन्छ। तेस्रो कुरा सङ्घ सरकार अन्तर्गत जति विभाग छन्। विभागलाई घटाएर हामी १५ वटा विभागमा झारौँ । यति भयो भने धेरै फजुल खर्च घट्छ। संविधान संशोधन गरेर भए पनि यो अनावश्यक बोझ ७७ जिल्लामा बसेको जिल्ला समन्वय समिति भङ्ग गरेर, यसलाई खारेज गरेर १५ सय कर्मचारीको फजुल खर्च हट्छ । १५४ वटा गाडीको फजुल खर्च घट्छ । तेल खर्च, कार्यालय खर्च घट्छ। यसो गरेर फजुल खर्चबाट मुक्त गरेर अगाडि बढायो भने जनतालाई एउटा विश्वास हुन्छ ।’

उहाँले पूर्वाधारको सम्बन्धमा नयाँ योजना आवश्यक नभएको भन्दै निर्माणाधीन अवस्थामा रहेका ठूला आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने बताउनुभयो ।