काठमाडौं – नेकपा (एमाले)का सांसद रघुजी पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ।
सांसद पन्तले संघीय संसदमा छलफल गरेर पारित गर्नुपर्ने विषयलाई राष्ट्रपतिले छलफल गरिरहनु संविधानको स्पिरिट अनुसार पनि नमिल्ने भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले संविधानको संरक्षकको रुपमा रहेको राष्ट्रपतिले आफ्नो कार्यालयमा थन्किएर बसेको सो विधेयकलाई छलफल गर्न नमिल्ने तर्क समेत गर्नुभयो ।
उहाँले सो विधेयक तत्काल संसदमा पेश गर्न सरकारसँग माग पनि गर्नुभयो। आफूहरु सो विधेयकलाई दिनरात छलफल गरेर छिटो पारित गर्न तयार रहेको सांसद पन्तको भनाइ थियो। उहाँले भन्नुभयो, ‘राष्ट्रपतिले छलफल गरिरहनु भएको छ निष्क्रिय भएर थन्किएर बसेको नागरिकता विधेयकमा। आज पनि त्यो समाचार दैनिक पत्रिकाहरुमा पढ्दा बडा दुःख लागेको छ। म सरकारलाई आग्रह गर्दछु–त्यो नागरिकता विधेयक तुरुन्त यो प्रतिनिधिसभाका ल्याएर दर्ता गरोस्। त्यसमाथि छलफल सुरु गरोस् । हामी त्यसलाई छिटोभन्दा छिटो छलफल गरेर, दिनरात छलफल गरेर पारित गर्न तयार छौं।’
सांसद पन्तले संघीय संसदको अधिकार खोस्ने खालका गतिविधि राष्ट्रपतिले गर्न नमिल्ने बताउनु भयो । उहाँले संविधानको संरक्षकले नै संविधान मिचेको भन्दै राष्ट्रपतिमाथि प्रश्न उठाउनु भयो । उहाँले भन्नुभयो, ‘धुलो लागेर बसेको विधेयकलाई टक्टक्याउँदै राष्ट्रपति झिकेर यो जारी गर्न मिल्छ कि मिल्दैन भनेर छलफल गर्न संविधानको स्पिरिटले दिन्छ ? संविधानको संरक्षकले गर्ने काम हो यो?’
प्रतिक्रिया