अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भीमनारायण कप: पहिलो खेलमा विराटनगर विजयी

भीमनारायण कप: पहिलो खेलमा विराटनगर विजयी


धनकुटा – धनकुटा जिल्लाको सबैभन्दा बढी पुरस्कार राशि भएको सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १५औँ संस्करण आजदेखि सुरु भएको छ।

धनकुटाको तल्लो टुँडिखेलमा सञ्चालन भइरहेको खेलको उद्घाटन खेलमा पेमा युवा क्लब विराटनगर विजयी भएको छ। विराटनगरले आयोजक धनकुटालाई टाइब्रेकर (पेनाल्टी)मा ४-२ गोल अन्तरले पराजित गरेको हो। 

निर्धारित समयमा खेल २-२ गोलको बराबरीमा टुङ्गिएपछि पेनाल्टी सुट आउटबाट निर्णय गरिएको थियो । खेलको ३१औँ मिनेटमा आकास राईले गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए। त्यसको पाँच मिनेटपछि विपक्षी टिमका विदेशी खेलाडी ओस्कारले खेलको ३३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरी बनाएका थिए। 

खेलको ७७औँ मिनेटमा ओस्कारले पुन अर्को गोल गरेर आफ्नो टिमलाई १ का विरुद्ध  २ गोलले आफ्नो टिमलाई अग्रता दिलाएका थिए। तर खेलको ८२औँ मिनेटमा आयोजका तर्फबाट दिपेन शाक्यले गोल गर्दै खेल बराबरी बनाएका थिए। 

प्रतियोगितामा आयोजक टिम र पेमा युवा क्लब विराटनगरसहित प्लानिङ ब्वाइज क्लब काठमाडौँ, कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी भारत, राष्ट्रिय जागृति फुटबल क्लब सुनसरी, झापा फुटबल क्लब झापा, एपिएफ काठमाडौँ र वीरगञ्ज युनाइटेड वीरगञ्जको सहभागिता रहेको छ। 

प्रतियोगितामा विजयी टोलीले नगद रु पाँच लाख नगद र उपविजेताले नगद रु दुई लाख ५० नगद पाउने सहिद भीमनारायण श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष पुरेन्द्रलाल श्रेष्ठले जानकारी दिनुभयो । विसं २०३० मा तत्कालीन राजा वीरेन्द्रलाई बम हानेको अभियोगमा पक्राउ परेका भीमनारायण श्रेष्ठलाई विसं २०३५ मा मृत्युदण्ड दिएको थियो । उनैको सम्झना र सम्मानमा विसं २०५५ देखि फुटबल प्रतियोगिता हुँदै आएको हो ।