काठमाडौँ-नौ महिनापछि नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । बिहान १० बजे पार्टी केन्द्रीय कार्यालयमा सुरु हुने बैठकमा विभिन्न १० वटा एजेण्डामा छलफल हुने केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।
बैठक आजबाट सुरु भएर वैशाख ३० गते समापन हुनेछ । बैठकमा केन्द्रीय कमिटीका ३३५ सदस्य, ४ जना केन्द्रीय निकायका अध्यक्ष र ९ जना प्रदेश कमिटी अध्यक्ष दुई गैरभौगोलिकहरु सहभागी हुनुहुनेछ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायहरूको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशहरूको कार्ययोजना, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, पार्टी प्रवेशीहरुको व्यवस्थापन लगायतका १० वटा कार्यसूची रहेका छन् ।
पार्टी स्रोतका अनुसार मिसन ग्रास रुटको प्रभावकारिताको समीक्षा पछि पार्टी सुदृढीकरणका लागि अर्को एक वर्षे अभियानको पनि घोषणा गर्ने तयारी छ ।






प्रतिक्रिया