काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने भनेर चलखेल भइरहेको आरोप लगाउनु भएको छ।
बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो।
अध्यक्ष ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिले नै कसैलाई दोषी करार गर्ने अवस्था नभएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘जबसम्म मानिस दोषी करार हुँदैन, त्यतिवेलासम्म दोषी रहेछ कि भनेर आशंका गर्न सकिन्छ, तर अपराधि अथवा दोषी नै छ भनेर करार गर्न सकिहाल्दैनौं । किनभने त्यसको अदालति फैसलाको प्रक्रिया बाँकी हुन्छ। त्यस्तोमा हामीले ढुक्कै धारणा बनाउन सक्दैनौं।’
भ्रष्टाचार गर्ने जोकोही पनि कारबाहीको दायरामा आउनुपर्ने तर एमालेप्रति लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको अध्यक्ष ओलीले बताउनु भयो। उहाँले आफ्नै पार्टीको नेता पनि भ्रष्टाचारमा संलग्न भए कारवाही हुनुपर्ने तर दोषी नै हो भनेर यत्तिकै करार गर्न नमिल्ने बताउनु भयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘हाम्रै पार्टीका मानिसको नाम आएको छ, हिजो हाम्रै सरकारमा रहेका साथीहरूको नाम आएको छ, जो सुकैको नाम आओस्, यदी दोषी छ भने कारवाही हुन्छ।’
कसलाई फसाउने भनेर पूर्वाग्राही प्रयास भइरहेको आरोप उहाँले लगाउनु भयो । उहाँले भन्नुभयो, ‘हामी हेरिरहेका छौँ, कसलाई फसाउने भन्ने प्रयास पनि भइरहेको छ, कता धकेल्ने भन्ने प्रयास भइरहेको छ, पूर्वाग्रह ढंगबाट दिइने अभिव्यक्ति, आधारहीन ढंगबाट अभिव्यक्ति, एमालेका बिरुद्ध निराधार प्रकाशन, अभिव्यक्ति आएका छन्।’
ललितपुरको च्यासलस्थि तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा शुरू भएको केन्द्रीय कमिटी बैठक वैशाख ३० गतेसम्म चल्नेछ।






प्रतिक्रिया