काठमाडौँ–निर्वाचन आयोगले दलहरूको लेखापरीक्षण गर्न महालेखालाई अनुरोध गरेको छ । आयोगको बैठकले दलहरूले बुझाएको लेखा परीक्षणको जाँचबुझका लागि महालेखालाई विशेषज्ञ टोली खटाउन आग्रह गरेको हो ।
आयोगले आवश्यक ठानेमा दलहरूको प्रतिवेदन जाँचबुझ गराउन सक्ने व्यवस्था छ ।
राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४२ को उपदफा (१) मा दफा ४१ बमोजिम लेखापरीक्षण प्रतिवेदन प्राप्त भएपछि आयोगले त्यस सम्बन्धमा तोकिए बमोजिम जाँच गराउन सक्नेछ ।
सोही दफाको उपदफा (२) मा उपदफा (१) को प्रयोजनको लागि आयोग वा आयोगले तोकिदिएको अधिकारीले सम्बन्धित दलबाट कुनै विवरण वा कागजात माग गर्न सक्नेछ । त्यस्तो विवरण वा कागजात तोकिएको अवधिभित्र पेस गर्नु सम्बन्धित दलको कर्तव्य हुने कानुनी व्यवस्था छ ।
“आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन बुझाउने दलहरूको लेखापरीक्षण प्रतिवेदन, लेखा सम्बन्धी कागजातलगायत विवरण जाँचबुझ गर्न र दलको कार्यालयमा गई निरीक्षण गर्न राजपत्राङकित द्वितीय श्रेणी– १, राजपत्राङकित तृतीय श्रेणी–२ र राजपत्र अनङकित प्रथम श्रेणी–२ गरी जम्मा ५ (पाँच) जना विशेषज्ञ कर्मचारी संलग्न भई देहाय बमोजिमको कार्यादेशसहितको कार्यविवरण बमोजिम कामकाज गर्ने गरी पठाइदिन महालेखा परीक्षकको कार्यालयमा अनुरोध गरी पत्राचार गरिनेछ,” आयोगको निर्णयमा भनिएको छ ।
दलहरूको कार्यालयमा रहेको सक्कल कागजात र विवरण जाँच गरिने आयोगले जनाएको छ ।






प्रतिक्रिया