अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निर्वाचन आयोगले सोध्यो ३० दललाई स्पष्टीकरण

निर्वाचन आयोगले सोध्यो ३० दललाई स्पष्टीकरण


काठमाडौँ-निर्वाचन आयोगले लेखा परीक्षण प्रतिवेदन नबुझाउने ३० राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । लगातार दुई आर्थिक वर्षसम्म लेखा परीक्षण प्रतिवेदन नबुझाउने ५ राजनीतिक दल, समय गुजारेर प्रतिवेदन पेस गर्ने ९ राजनीतिक दल र अघिल्लो आर्थिक वर्षको आम्दानी खर्चको विवरण नबुझाउने १६ राजनीतिक दलले सात दिनभित्र स्पष्टीकरण बुझाउनुपर्ने आयोगले जनाएको छ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४१ (१) अनुसार आयोगमा दर्ता भएको दलले आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने छ।

जसमध्ये ८२ वटा राजनीतिक दलले समयमै प्रतिवेदन बुझाएका छन् । आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टीलगायतले प्रतिवेदन बुझाएका हुन् ।  

लगातार दुई वर्षसम्म प्रतिवेदन नबुझाउनेमा मुस्कान सेना नेपाल पार्टी, शिव सेना नेपाल, आम आदमी पार्टी नेपाल, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेपाल कम्युनिस्ट पार्टी लोकतान्त्रिक छन्।

त्यस्तै, समयमा लेखा परीक्षण प्रतिवेदन नबुझाउनेमा संसदमा प्रतिनिधित्व गर्ने नागरिक उन्मुक्ति, नेपाल समाजवादीलगायत ९ पार्टी छन्।

नेपाली ग्रिन्स पार्टी, नेपाल आमा पार्टी, नेपालवाद, त्रिमुल पार्टी, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपालले पनि समयमा आयव्यय विवरण पठाएनन्।

नेपाः पार्टी, साझा पार्टी, गान्धीवादी पार्टी नेपाल, नेपाल नौलो जनवादी पार्टीलगायत १६ दलले अघिल्लो आर्थिक वर्षको आम्दानी–खर्चको लेखा परीक्षण प्रतिवेदन नबुझाएको आयोगले उल्लेख गरेको छ ।