काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र विज्ञापनजन्य सामग्री बाँड्ने ६१ जनालाई कारबाही गरेको छ।
शुक्रबार काठमाडौं महानगरपालिकाका विभिन्न क्षेत्रमा क्याम्पसका विज्ञापनजन्य सामग्री बाँड्दै हिँड्ने ६१ जनालाई कारबाही गरेको हो।
पटक/पटक विज्ञापनजन्य सामग्री क्याम्पस आसपासमा बाँड्दै नहिँड्न सूचना गरे पनि अटेर गरेपछि कारबाही थालेको काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताउनु भयो ।
उहाँले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न/नराख्न सूचना जारी गरे पनि नटेरेपछि कारबाही प्रक्रिया अघि बढाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्चा, पोस्टर लगायतका विज्ञापनजन्य सामग्री नबाँड्न नराख्न, पटक/पटक अनुरोध र सूचना निकालेका थियौं। यो सूचनालाई अटेर गरी परीक्षा केन्द्रमा पम्प्लेट बाँड्ने र पर्चा बाँड्ने काम गरेपछि यस्ता पोस्टर बाँड्नेहरूलाई हामीले कार्यालयमा ल्याएर कारबाहीको दायरामा ल्याएका छौं। पहिलो पटक भएकाले हामीले संस्थाहरूलाई ५ हजारको दरले जरिवाना गरेका छौं। हामीले ६१ जनालाई लिएर आएका छौं, उनीहरूलाई संस्थावाइज ५ हजारका दरले जरिवाना गर्नेछौं। अटेर गरिरहने हो भने जरिवानाको दायरा बढ्छ।’
प्रमुख पाण्डेका अनुसार महानगरपालिकाले पहिलो पटक कारबाही गर्न लागिएको जसमा संलग्न संस्थाहरूलाई ५ हजार रुपैयाँ जरिवाना गरिएको बताउनु भयो ।
प्रतिक्रिया