काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताउनु भएको छ।
आज सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताकासाथ काम अघि बढाइरहेको बताउनु भयो।
उहाँले भन्नुभयो, ‘शिक्षा ऐन अहिलेको धेरैको चासोको विषय रहेको छ र यो धेरै पहिला नै मस्यौदा भइकन प्रक्रियामा अघि बढेको तर सरकार परिवर्तन हुने अवस्थाले मन्त्रीपरिषदमा पुग्दै फिर्ता आउने गरेको रहेछ। यो जारी अधिवेशनमा त्यसलाई प्रवेश गराउनुपर्छ भन्ने अठोटका साथमा काम गरिरहेका छौँ ।’
उहाँले पहिला पनि मस्यौदा तयार भइ मन्त्रीपरिषद्मा पुग्ने तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै अहिले मन्त्रालयले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः पठाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अहिले पनि यो प्रक्रियामा छ, यो कानून मन्त्रालयमा छ। हामीले कानून मन्त्रालयलाई निरन्तर अनुरोध गरिरहेका छौँ।’
उहाँले कानून मन्त्रालयमा धेरै कानून निर्माण गर्नुपर्ने भएकाले केही समय रोकिएको बताउनु भयो ।






प्रतिक्रिया