अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले बैठक: प्रतिवेदनमाथि छलफल जारी

एमाले बैठक: प्रतिवेदनमाथि छलफल जारी


काठमाडौं – नेकपा (एमाले) को बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा मिसन ग्रासरुट अभियानको बाँकी प्रतिवेदन प्रस्तुत गर्ने कार्य सम्पन्न भएको छ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकबारे एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शुक्रबार बिहानदेखि सुरु भएको बैठकमा बागमती प्रदेशको तर्फबाट सचिव गोकर्ण विष्टले प्रतिवेदन प्रस्तुत गर्नुभएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘प्रदेशका तर्फबाट मिसन ग्रासरुट अभियानको बाँकी रहेका प्रतिवेदनहरु प्रस्तुत गर्ने काम सम्पन्न भएको छ। आज बागमती प्रदेशका तर्फबाट पार्टीका सचिव गोकर्ण विष्ट, सम्पर्क समन्वयबाट लालबाबु पण्डित, पेशागत तर्फबाट सुजिता शाक्य, गण्डकीका तर्फबाट पद्मा अर्यालले आजको बैठकमा आ-आफ्ना प्रदेशका प्रतिवेदनहरु प्रस्तुत गर्नुभयो ।’

उहाँले ती प्रतिवेदनमाथि आठ वटा समूहमा छलफल जारी रहेको बताउनुभयो । ‘आ-आफ्ना प्रदेशका के कस्ता कार्ययोजना हुन सक्छन्, ती वार्षिक कार्ययोजनाबारेमा राय, सल्लाह, सुझाव प्रस्तुत गर्न ७ प्रदेश र एउटा सम्पर्क समन्वय कमिटी र एउटा पेशागत कमिटी, एउटा टोली बनाएर आठ वटा समूह निर्माण गरेको छ। त्यसमा घनिभुत छलफल गरेका छौं’ उहाँले भन्नुभयो। 

यसैगरी, बैठकमा पार्टी महासचिव शंकर पोखरेलले आगामी कार्ययोजनाबारे मोटामोटी रुपमा मार्गदर्शन हुनेगरी प्रस्तुत गर्नुभएको उहाँले जानकारी दिनुभयो । केही केन्द्रीय सदस्यलाई प्रश्न समेत सोधिएको भन्नुहुँदै उहाँले भन्नुभयो, ‘ती प्रश्नहरुलाई समेत आधारित भएर पार्टीका योजना निर्माणका लागि प्रत्येक सुझावहरु प्राप्त हुनेछन्। 

आठ वटै टोलीबाट सुझाव प्रस्तुत भएपछि शनिबार बिहान स्थायी कमिटी बैठक बस्ने उहाँले बताउनुभयो । प्राप्त सुझावलाई विश्लेषण गर्दै पार्टीको केन्द्रीय नेतृत्वले सोचेका योजनामा तिनलाई समायोजन गर्दै पार्टीको वार्षिक कार्ययोजनाको प्रस्ताव तयार गर्ने उहाँको भनाइ छ। 

उहाँले २०८० को जेठदेखि चैत महिनासम्म देशव्यापी रुपमा के कस्तो कार्यक्रम गर्ने भन्नेबारे वार्षिक कार्ययोजनाको खाका तयार गरिने बताउनुभयो । ‘एउटै लय, एउटै तालबाट जनतामा पहिलो शक्तिको रुपमा रुपान्तरण गर्नेगरी पार्टी पंक्तिलाई परिचालन गर्न हामी विशेष जोड दिनेछौं । समुहमा छलफल जारी छ’ उहाँले भन्नुभयो ।