काठमाडौँ-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले भविष्यको योजनामा काम गर्ने पार्टीहरू कहिल्यै पुरानो नहुने दाबी गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले नयाँ र पुराना पार्टीहरूको भाष्य खडा गरिन खोजिएको बताउनुभएको हो ।
‘मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन सक्तैन। यो निरन्तर गतिशील प्रवाहमा अघि बढ्ने गर्छ,’ उहाँले भन्नुभएको छ, ‘माओवादी केन्द्रसँगको पार्टी एकतासँगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन। संगठनात्मक अराजकता बढेर गयो। परिणाम स्वरूप यसको गति केही कमजोर बनेको थियो। संगठनात्मक अराजकताले यसको एकिकृत शक्ति घट्न पनि पुगेको थियो।’
‘मिसन ग्रासरूट’ले गतिहिनता तोडेको र नयाँ गतिको आधार सिर्जना गरेको उहाँको दाबी छ। नयाँ स्वतः विकल्प हुने, राम्रो र सफल नहुने उहाँले उल्लेख गर्नुभएको छ ।
‘यथास्थितिको दुष्चक्रलाई तोड्ने हो भने सही नीति, सबल संगठन र प्रतिबद्ध कार्यकर्ताको आवश्यकता पर्दछ,’ उहाँले भन्नुभएको छ, ‘विचारधाराको जगमा खडा भएको बलियो राष्ट्रिय शक्तिले मात्र यथास्थितिवादको दुष्चक्रलाई तोड्ने सामर्थ्य राख्दछ र मुलुकलाई परिवर्तनको दिशामा डोर्याउन सक्छ।’
शनिबार सकिएको पाँचौ केन्द्रीय कमिटी बैठकले पार्टीलाई बलियो राष्ट्रिय शक्तिको रूपमा सुदृढ गर्ने कार्ययोजना तयार गरेको उहाँले बताउनुभएको छ ।
प्रतिक्रिया