काठमाडौँ-म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा शनिबार राति वल्भ्सलाई २-० ले पराजित गरेको छ । यस जितपछि युनाइटेडले शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।
लगातार दुई हारपछि युनाइटेडले जित हात पारेको हो ।
घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि एन्टोनी मार्सियलले ३२औं र अलेजान्द्र गार्नाचोले इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे ।
तेस्रो स्थानको न्युकासल युनाइटेड लिड्ससँग २-२ को बराबरीमा रोकिँदा पनि युनाइटेडलाई फाइदा पुगेको छ ।
३५ खेलपछि न्युकासल र म्यानचेष्टर युनाइटेडको समान ६६ अंक छ । गोलअन्तरमा न्युकासल तेस्रो र म्यानचेष्टर युनाइटेड चौथो स्थनानमा छ । लिभरपुल ६२ अंकसहित पाँचौ स्थानमा छ ।
शीर्ष चारको होडमा रहेका टोटनहम र एस्टन भिल्ला भने बाहिरिसकेका छन् ।
हाल आठौं स्थानमा रहेको ब्राइटनको पनि शीर्ष चारको सम्भावना बाँकी नै छ । ३३ खेलबाट ५५ अंक जोडेको ब्राइटनले अझै ५ खेल खेल्न बाँकी छ ।
प्रिमियर लिगको अन्य खेलमा एस्टन भिल्लाले टोटनहमलाई २- १ ले पराजित गर्दा चेल्सी नटिङहम फरेस्टसँग २-२ को बराबरीमा रोकिएको छ ।
क्रिस्टल प्यालेसले एएफसी बर्नमाउथलाई तथा फुलहमले साउथह्याम्पटनलाई समान २-० ले हरायो ।
प्रतिक्रिया