काठमाडाैं – नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले शीर्ष तीन दलका नेताहरूबीचको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै हस्तक्षेप नगर्ने समझदारी भएकाे बताउनु भएको छ।
प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै हस्तक्षेप नगर्ने समझदारी भएको हो।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेकाे तीन दलका शीर्ष नेता र प्रमुख सचेतकहरु बीचकाे छलफलमा त्यस्ताे समझदारी भएकाे एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयाे।
संसद्काे काम कारबाहीबारे छलफल गर्न बसेकाे साे प्रकरणले अनाैपचारिक प्रवेश पाएकाे भन्दै उहाँले साे विषय आफूले नै उठान गरेकाे बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिनुभयाे ।
उहाँका अनुसार शीर्ष नेताहरूले संविधान र कानूनअनुसार कामकारबाही अघि बढाउन बैठकमा कुनै हस्तक्षेप नहुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रसंगवश यो विषय उठेको थियो, वर्तमान अवस्था, तपाईंहरू तीन नेता त बस्नेबित्तिकै भुटानी शरणार्थीबारे छलफल गर्न बस्यो भनेर चर्चा हुन्छ के हो भनेर हाँस्दै सोध्ने मान्छे मै हो ? मैले तपाईंहरूको तर्फबाट सोधेको हो, प्रधानमन्त्रीज्यू र नेताहरूलाई । तपाईंहरू तीनजना नेता त जुनसुकै वेला बसिरहनुपर्छ, एक ठाउँमा बस्नु अचम्मको कुरा होइन, तर यो विषयलाई लिएर एउटा चासो छ, कथंकदाचित सोधिहाले भने हामी तीन दलको बीचमा एउटा समझदारी छ, हामी तीन दल निष्कर्षमा छौँ, त्यो संविधान, कानुनबमोजिम निष्कर्षमा पुगोस् भन्ने चाहना हो, त्यही कुरा भनिदिए हुन्छ भन्ने जवाफ आएको छ ।’






प्रतिक्रिया