काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको काम कारबाही अगाडि बढाउन नहुने बताउनु भएको छ।
सो प्रकरण जघन्य अपराध भएको र सभामुखले रुलिङ गर्दा पनि सरकारले सो विषयबारे संसदलाई अझै जानकारी नगराएकोमा उहाँको आक्रोश थियो।
सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गैरेले संसदको कामकारबाहीलाई रोकेर भएपनि सरकारलाई त्यसबारे संसदमा जानकारी गराउन रुलिङ गर्न पनि सभामुख समक्ष माग गर्नुभयो।
उहाँले अन्तराष्ट्रिय जगतको समेत ध्यानाकर्षण भइरहेको सो प्रकरणबारे किन संसदलाई जानकारी नगराएको भनि सरकारलाई पटकपटक प्रश्न समेत गर्नु भयो।
गैरेले भन्नुभयो, ‘प्रतिनिधिसभाको २६ गते र २७ गतेको बैठकमा नेपालीलाई भुटानी शरणार्थी बनाएर विक्री वितरण गर्ने मानव तस्करीको कामको विरुद्धमा यो सदनमा बुलन्द आवाज उठेको थियो । २७ गतेको बैठकमा स्वयम सभामुख महोदयले सरकारलाई संसदको तर्फबाट जानकारी गराउनका लागि रुलिङ पनि भएको थियो । तर आजको कार्यसूचिमा पनि मैले सरकारले यस विषयमा यो सार्वभौम सदनलाई जानकारी गराउने कार्यसूची मैले देखिन । म माननीय सभामुखज्यूको गम्भीर ध्यानाकर्षण गराउनु चाहन्छु ।’
प्रतिक्रिया