काठमाडौं – नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी प्रतिनिधिसभालाई गराइएको छ।
सभामुख देवराज घिमिरेले सोमबारको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार राती बूढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरिएको जानकारी गराउनु भएको हो ।
उहाँलाई पक्राउ गरिएको जानकारी गराए पनि रायमाझी निलम्बनमा नपरेको संघीय संसद् सचिवालयले जनाएको छ। संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ को उपनियम १ बमोजिम सभामुखले पक्राउ परेको पत्र मात्रै पढेर सुनाएको बताउनु भयो ।
उहाँले रायमाझी निलम्बनमा नपरेको जानकारी दिनु भयो।
‘उहाँ निलम्बन पर्नुभएको छैन। प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ (१) बमोजिम पक्राउ परेको पत्र पढेर मात्रै सुनाउनु भएको हो। त्यहाँ निलम्बन गर्ने व्यवस्था छैन।’
उननियम (१) मा भनिएको छ, ‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ।’
प्रहरी हिरासतमा रहे पनि उहाँको सांसद पद यथावत रहनेछ । प्रतिनिधिसभा नियमावली २०७९ को नियम २४८ (३) अनुसार सांसदहरू फौजदारी मुद्दामा पक्राउ परेर पुर्पक्षका लागि थुनामा पठाइएमा निलम्बनमा पर्ने व्यवस्था उल्लेख छ।
प्रतिक्रिया