काठमाडौँ । नेकपा एकालेमा महासचिव शंकर पोखरेलले एमालेले राम्रो काम गर्न खोज्दा पाटीभित्र अन्तरसंघर्ष बढाएर विभाजनको पिडा भोग्नुपरेको बताउनुभएको छ । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले एमालेले राम्रो काम गर्दा विभाजनको पिडा बेहोर्नु पर्दा जनता र कार्यकर्तामा नेतृत्व असफल भएको लाग्नु स्वाभाविक भएको उल्लेख गर्नुभएको हो ।
महासचिव पोखरेलले नेपाली कांग्रेसमा उदारवादी यथास्थितिवादी झुकाव बढेकाले उसका कार्यकर्ता र समर्थकमा पीडाको अनुभूति कम देखिएको बताए ।
‘जतिवेला नेकपा (एमाले) बलियो बन्छ र राम्रो काम गर्न सुरु गर्छ त्यतिबेला नेकपा (एमाले)भित्र अन्तरसंघर्ष बढेको/बढाइएको र विभाजनको पीडा बेहोर्नु परेको छ । राम्रो काम गर्दा विभाजनको पीडा बेहोर्नु पर्दा जनता र कार्यकर्तामा नेतृत्व असफल भएको लाग्नु स्वाभाविक नै हो । तर काम गर्न खोज्ने प्रमुख नेतृत्वको पीडा पनि आफ्नै खालको छ’, उहाँले लेख्नुभएको छ, ‘यस्तो स्थिति एमालेका हकमा मात्र होइन, नेपाली कांग्रेसभित्र पनि उस्तै छ । यद्यपि कांग्रेस उदारवादी यथास्थितिवाद तर्फको झुकाउ बढेका कारणले उसको कार्यकर्ता पंक्ति र समर्थकमा भने नेकपा (एमाले) प्रतिको जस्तो पीडाको अनुभूति कम देखिन्छ ।’
ठूला संघर्ष र बलिदानबाट हुर्केका नेता र पार्टीभित्रको पीडा उनीहरुको कमजोरी ठान्नु ठूलाे भुल भएको भन्दै महासचिव पोखरेलले त्यसमा भूराजनीतिक स्वार्थहरूको प्रभाव बढी रहेको बताउनुभयो ।
‘नेपालमा राजनीतिक अस्थिरता सिर्जनागरी आफ्नो प्रभाव विस्तार गर्ने वाह्यशक्तिहरुको चलखेलले नेपाली राजनीति अस्थिर बनेको छ । नियोजित रूपमा सिर्जना गरिएको राजनीतिक अस्थिरताका कारणले पनि नेपाली राजनीतिले सही दिशा र बाटो समात्न सकेको देखिँदैन’, उहाँले लेख्नुभएको छ, ‘तर नेपाली राजनीतिको विकल्पका रूपमा अघि सार्न खोजिएको पपुलिष्ट राजनीतिले राजनीतिक संकटको समाधान दिने कुनै सम्भावना नै छैन । बरु त्यो भूराजनीतिक स्वार्थको गोटी बन्ने सम्भावना बढिरहन्छ । पछिल्लो चुनाव पछिको सत्ता राजनीतिक संघर्षको विश्लेषण गर्ने हो भने त्यस्तै भइरहेको छ ।’
राजनीति सही नीति, कार्यक्रम र संगठनको बलमा अघि बढाउन उदारवाद कि समाजवादको एजेण्डाभित्र खोज्नुपर्ने भन्दै उहाँले राजनीतिलाई त्यसकै वरिपरि ध्रुवीकृत गर्नुपर्ने बताउनुभयो ।
‘नयाँका नाममा पपुलिष्ट राजनीतिक गरिरहेकाहरूले पनि आफ्नो बाटो उदारवाद कि समाजवाद भनेर नीतिगतरुपमा स्पष्टता दिन सक्नु पर्दछ । सधैँभरि पपुलिष्ट कुरा गरेर समाजलाई सही गन्तव्यमा पुर्याउन सकिँदैन’, उहाँले उल्लेख गर्नुभएको छ । नेपालमा उदारवादले व्यापारिक पुँजीवादलाई प्रश्रय दिएको उहाँले बताउनुभएको छ ।
व्यापारिक पुँजीवादले दलाल नोकरशाही पुँजीवाद लाभान्वित हुने भन्दै उहाँले भन्नुभयो, ‘नेकपा (एमाले)लाई परमादेशबाट हटाइपछिको पाँच दलीय सरकारले अवलम्बन गरेको नीति उदारवाद नै हो । त्यसको परिणाम के हुँदो रहेछ हामीले चरम आर्थिक संकटका रूपमा भोगिरहेका छौ । समाजवाद हाम्रो जस्तो मूलकमा स्वाधीन अर्थतन्त्र निर्माणको बाटो हो । तर अहिलेकै अवस्थामा नेपाली समाजले समाजवादी कार्यक्रम लागु गरिहाल्न सक्ने अवस्था पनि छैन । यस्तो अवस्थामा समाजवाद उन्मुख आर्थिक सामाजिक विकासको बाटो नै उपयुक्त बाटो हो । तर त्यसका लागि पनि बलियो राष्ट्रिय शक्तिका रूपमा समाजवादका पक्षधर शक्ति सुदृढ हुनु पर्दछ ।’
नेपाली समाज विचारधाराका आधारमा केन्द्रीकृत र ध्रुवीकृत नहुने हो भने बलियो राष्ट्रिय शक्तिको विकास नहुने भन्दै महासचिव पोखरेलले संकटको समाधान पनि नहुने उल्लेख गर्नुभयो । जनमतलाई विभाजित हुनबाट जोगाउन विचारधाराको जगमा बलियो राष्ट्रिय शक्तिका रूपमा राजनीतिक दलहरूलाई सुदृढ गर्नुपर्ने उहाँले बताउनुभयो ।






प्रतिक्रिया