काठमाडौं – नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाएको छ। पेट्रोलको मूल्य भने यथावत राखेको छ ।
भारतीय आयल कर्पोरेसन (आईओसी)ले अघिल्लो पटकको मूल्यभन्दा डिजेलमा प्रतिलिटर ८ रुपैयाँ १३ पैसाका दरले घटाएर पठाएपछि निगमले प्रतिलिटर १० रुपैयाँ घटाएको हो।
आईओसीले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा घटाएर पठाएको थियो। तर, भारत र नेपालबीचको मूल्यान्तरलाई कारण देखाउँदै निगम सञ्चालक समितिले पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको छ।
नयाँ खुद्रा बिक्री मूल्य मंगलबार राति १२ बजेदेखी लागु हुने छ। डिजेलको मूल्य घटेपश्चात खुद्रा बिक्री मूल्य प्रतिलिटर १५५ रुपैयाँ पर्नेछ । मट्टीतेल पनि १५५ रुपैयाँ पर्ने निगमले जनाएको छ।पेट्रोलको मूल्य यथावत राख्दा प्रतिलिटर १७५ रुपैयाँ नै पर्ने भएको छ। यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १६५ रूपैयाँ थियो।
पेट्रोलको मूल्य प्रतिलिटर १७५ रूपैयाँ, हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६० रूपैयाँ, हवाई इन्धन (बाह्य)को प्रतिलिटर अमेरिकी डलर १.३५० र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ८ सय रूपैयाँ कायमै छ।







प्रतिक्रिया