काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले एक्लैले देशको अभिभारा धान्नुपर्ने अवस्था आएको बताउनु भएको छ।
बुधबार काठमाडौंमा मदन-आश्रितको ३१ औं स्मृति दिवसलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।
अध्यक्ष ओलीले सत्ताका लागि एमालेले गठबन्धन नगर्ने बताउनु भयो। उहाँले भन्नुभयो, ‘सत्ता स्वार्थका निम्ति नभई देशका लागि मात्रै गठबन्धन गर्छ ।’

अध्यक्ष ओलीले भन्नुभयो, ‘नेकपा एमाले पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने परिस्थिति बनेको छ, यो सहज छैन। हामी कसैसँग कहिल्यै मिल्दैनौँ भन्ने होइन तर सत्ता गठनका लागि मिल्ने कुरा हुँदैन। देश, जनता, सुशासन, परिवर्तनका लागि हामी कोहीसँग मिल्न सक्छौँ। अहिलेको गठबन्धन सत्ता, सरकार प्राप्त गर्न गरिएको गठबन्धन हो, सत्ताधारी हो। नीति, कार्यक्रम, उद्देश्यविहीन गठबन्धन हो, कार्यक्रमविहीन गठबन्धन हो।’
अहिलेको गठबन्धन उद्देश्यहीन, गन्तव्यहीन, लक्ष्यबिहीन र नीतिविहीन भएको उहाँको भनाइ छ। अध्यक्ष ओलीले विकास निर्माण हुन नसक्नु, देश भद्रगोल हुनुमा राजनीतिक अस्थिरता र अराजकताबाट गुज्रिरहेको बताउनु भयो।
उहाँले भयावह अवस्था हुँदा पनि सरकार जान्छ कि टिक्छ भन्ने कुरामा प्रधानमन्त्री केन्द्रित हुन दुखद कुरा रहेको टिप्पणी गर्नुभयो।







प्रतिक्रिया