अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारीः जनताको बहुदलीय जनवादका प्रणेता: शंकर पोखरेल

मदन भण्डारीः जनताको बहुदलीय जनवादका प्रणेता: शंकर पोखरेल


काठमाडौं – नेकपा एमाले महासचिव शंकर पोखरेलले जननेता मदन भण्डारीको अगुवाइमा नेपालको कम्युनिष्ट आन्दोलनको मौलिक कार्यक्रम जनताको बहुदलीय जनवाद स्थापना भएको बताउनुभएको छ। 

मदन-आश्रित स्मृति दिवसको अवसरमा बुधबार एमाले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले जनताको बहुदलीय जनवादलाई नेपाली राजनीतिक स्थापित गर्ने नेता मदन भण्डारी र जीवराज आश्रितको षडयन्त्रपूर्ण तरिकाले हत्या भएको बताउनुभयो।

जनताको बहुदलीय जनवादको अभियानलाई देशव्यापी बनाउने क्रममा भण्डारी र आश्रित षडयन्त्रमा पर्नुभएको पोखरेलको भनाई छ।

यतिबेला नेपाल राष्ट्र अत्यन्त संकटमा परेको महासचिव पोखरेलले बताउनुभयो । एमाले नेतृत्वमा बनेको सरकारले जनता र राष्ट्रको पक्षमा काम गर्न लागेपछि एमाले र राष्ट्र माथि षडयन्त्र हुने गरेको उहाँले बताउनुभयो। २०५१ मा मनमोहन अधिकारी नेतृत्वको सरकार होस् वा केपी शर्मा ओली नेतृत्वको सरकार षडयन्त्रपूर्ण तरिकाले ढालिएको र देश निर्माणको काम रोकिएको पोखरेलले बताउनुभयो।

आज मुलुकमा जुन प्रकारको संकट स्थापित भएको छ त्यसको सर्जक तिनै षडयन्त्रका योजनाकार रहेका उहाँले दाबी गर्नुभयो। ‘जति बेला नेकपा एमालेको नेतृत्वमा सरकार बन्छ र सरकारले जनता र राष्ट्रको पक्षमा काम गर्न सुरु गर्दछ, त्यति बेला राष्ट्रमाथि षडयन्त्र हुने गर्दछ र नेकपा एमालेलाई सरकारबाट हटाएर षडयन्त्रपूर्ण तरिकाले विकल्प दिने कोसिस गरिन्छ’, पोखरेलले भन्नुभयो। 

राजनीतिक परिवर्तनमा मात्र लक्ष हो भन्ने भाष्य खडा गरेर २०६२/०६३ को परिवर्तन पछि आर्थिक सामाजिक परिवर्तनको पाटोलाई लत्त्याउने प्रयत्न भएको र जनताको बहुदलीय जनवादको औचित्य समाप्त भयो भन्ने भ्रम फिँजाउने काम भएको पोखरेलले बताउनुभयो ।

महासचिव पोखरेलले अहिलेको अवसरवादको कारण त्यो पनि भएको बताउनुभयो । दक्षिणपन्थी अवसर वाद र संगठनात्मक अराजकताले वामपन्थी आन्दोलनलाई बदनाम गराएको उहाँको भनाइ छ । ‘वामपन्थी आन्दोलनलाई दिशाहीन बनाउने प्रयत्न भयो’, उहाँले भन्नुभयो ।