विराटनगर – कोशी प्रदेशसभा सदस्य तथा नेकपा एमाले संसदीय दलका उपनेता राम बहादुर राना मगरमाथि आक्रमणको प्रयास भएको छ।
बुधबार इलामको माङसेबुङ गाउँपालिकाको एउटा कार्यक्रममा सहभागी हुन जाँदा मगरमाथि आक्रमण भएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।
प्रमुख सचेतक भण्डारीले बुधबार दिउँसो प्रेस विज्ञप्ती निकाल्दै केही उच्छृङ्खल र अराजक व्यक्तिहरुले विना कुनै कारण सांघातिक आक्रमण गर्ने प्रयास गरेको जानकारी दिनु भएको हो। आक्रमणको उक्त प्रयासप्रति एमाले संसदीय दलको कार्यालयले घोर निन्दा र भर्त्सना गर्दै संलग्नलाई कारबाहीको माग गरेको छ।
विज्ञप्तीमा भनिएको छ, ‘मुलकुमा सबैले शान्तिपूर्ण र कानून सम्मत ढंगले आफ्ना विचार व्यक्त गर्ने, नागरिकको स्वतन्त्रपूर्वक आवतजावत गर्न पाउने र सोही अनुसारको व्यवहार प्रदर्शन गर्न पाउने संवैधानिक अधिकारको घोर उल्लंघन गर्दै कानून हातमा लिने, हिंसात्मक गतिविधि गर्ने जस्ता कार्यबाट समाज र देशलाई उचित ढंगले अगाडि बढाउन सकिंदैन । हाम्रो दल मुलुकको विकास, समृद्धि, जातिय, भाषिक तथा साँस्कृतिक एकता र सदभावको पक्षमा दृढतापूर्वक उभिंदै आएको छ। तसर्थ, माननीय राम बहादुर राना मगर प्रति गैरकानूनी हर्कत र उच्छृङ्खल गतिविधि प्रदर्शन गरी आक्रमण गर्ने त्यस्ता व्यक्तिहरुलाई तत्काल कानूनको दायरामा ल्याई कारबाही गर्न हाम्रो दल नेपाल सरकारसँग जोडदार माग गर्दछ।’








प्रतिक्रिया