काठमाडौँ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिष्टहरुबाट समाजको रूपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुननसक्ने बताउनुभएको छ । आज बिहान सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले पपुलिष्टहरुबाट यथास्थितिवादको पोषण मात्रै हुने उल्लेख गर्नुभएको हो ।
‘सामाजिक अराजकताको जगमा नीतिहीन उद्देश्य हीन र गन्तव्यहीन पपुलिष्टहरु राजनीतिक विकल्पका रूपमा प्रस्तुत हुने र समाजले त्यसलाई आशाको नजरले हेर्ने अवस्था आजको राजनीतिक नयाँ परिदृश्य हो । पपुलिष्टहरुबाट समाजको रूपान्तरण र आर्थिक तथा राजनीतिक संकटको समाधान हुन सक्तैन’, उहाँले लेख्नुभएको छ, ‘उनीहरुबाट हुने भनेको अन्ततः यथास्थितिवादको पोषण नै हो । दुनियाँका पपुलिष्ट आन्दोलनहरुको अवसान त्यसरी नै हुने गरेको छ ।’
महासचिव पोखरेलले सामाजिक अराजकताको चरम विन्दुतर्फ उन्मुख भएको टिप्पणी गर्नुभएको छ । राज्य, संगठित शक्तिहरू र अख्तियारप्राप्त व्यक्तिहरूप्रतिको अविश्वास, निराशा र घृणाले गर्दा समाज अराजकताको चरम विन्दुमा पुगेको उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले अर्थतन्त्रलाई कमजोर बनाएर लाभलिने स्वार्थीतत्वहरुको राज्यसत्तामा पहुँच र प्रभुत्व भएकाले आर्थिक संकट उत्पन्न भएको बताउनुभयो ।
‘हाम्रो समाजका प्रमुख तीन समस्याका रूपमा राजनीतिक अस्थिरता र अराजकता, सांस्कृतिक मूल्यको विघटन र वैधानिक अर्थतन्त्रलाई कमजोर बनाएर त्यसबाट लाभलिने स्वार्थीतत्वहरुको राज्यसत्तामा पहुँच र प्रभुत्व कायम हुनुले उत्पन्न चरम आर्थिक संकट नै हो । सोही कारणले आज मुलुकमा मौद्रिक तरलतामा संकट उत्पन्न भएको छ’, उहाँले लेख्नुभएको छ, ‘वैध व्यापार व्यवसायमा गिरावट आएको छ । राजश्वमा गिरावट आएको छ । आर्थिक रूपमा मुलुक मन्दीको अवस्थातर्फ उन्मुख छ । यस्तो अवस्थामा राज्यको ध्यान जुनरुपमा संकट समाधानमा केन्द्रित हुनुपर्ने हो त्यो हुन सकिरहेको छैन ।’
महासचिव पोखरेलले राजनीतिक अस्थिरता र आर्थिक(सामाजिक संकटको बीचबाट आफ्नो स्वार्थको रोटी सेक्न वाह्यशक्तिहरु सल्वलाई रहेका टिप्पणी गर्नुभएको छ । संकटको समाधानका लागि सबैपक्ष सामाजिक बहस र समाधान केन्द्रित राजनीतिक अभियानमा जुट्नुपर्ने उहाँले बताउनुभयो ।






प्रतिक्रिया